भारतमा वितेको २४ घन्टामा ९० हजार भन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।
गत डिसेम्वरबाट सुरु भएको कोरोना भाइरसबाट कुनैपनि मुलुकमा एकैदिन यति ठूलो संख्यामा संक्रमितहरु भेटिएका थिएनन् । कोरोना महामारी सुरू भएयता विश्वको कुनै पनि मुलुकमा एकै दिन यति धेरै संख्यामा संक्रमित फेला परेको यो पहिलोपटक हो।
वितेको २४ घन्टामा भारतमा ९० हजार ६ सय कोरोना संक्रमित फेला परेका छन्न भने १ हजार ४४ जनाले ज्यान गुमाइसकेका छन् ।
योसहित भारतमा कुल संक्रमितको संख्या ४१ लाख १४ हजार ७ सय नाघेको छ भने ज्यान गुमाउनेको संख्या ७० हजार ७ सय नाघेको छ ।
यही गतिमा भारतमा कोरोना संक्रमित बढ्दै जानेहो भने भोलीसम्ममा भारत अमेरिकापछि दोस्रो स्थानमा पुग्ने देखिन्छ । अहिले संक्रमितको संख्याको आधारमा दोस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ४१ लाख २३ हजार छ जुन भारतको भन्दा ९ हजारले बढी हो । विगत २४ घन्टामा ब्राजिलमा ३१ हजार २ सय संक्रमित थपिँदा भारतमा ९० हजार ६ सय संक्रमित थपिएका छन् ।
कोरोना भाइरस (कोभिड १९) संक्रमणको शीर्ष स्थानमा रहेको संयुक्त राज्य अमेरिकामा यो समाचार तयार पार्दासम्म ६४ लाख ४३ हजार १ सय ६० संक्रमित भेटिएका छन् भने यही भाइरसका कारण १ लाख ९२ हजार ८ सय २० जनाले ज्यान गुमाइसकेका छन् ।