गण्डकी । पोखरा महानगरपालिकामा यस वर्ष करिब ८०० रोपनी क्षेत्रफलमा तरबुजा खेती विस्तार हुने भएको छ ।
पोखरा महानगरले यहाँका किसानलाई तरबुजाखेतीतर्फ आकर्षित गर्न अनुदानलगायतका कार्यक्रम अघि बढाएसँगै खेती विस्तार हुँदै गएको हो । पछिल्ला वर्षमा पोखरा महानगरका विभिन्न स्थानमा तरबुजाखेती गर्ने क्रम बढ्दै गएको बताउँदै महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले यसलाई व्यावसायिक रूपमा अघि बढाउने गरी लागिएको जानकारी दिए।
“तरबुजाखेतीप्रतिको आकर्षण बढ्दो छ”, उनले भने,“यस वर्ष पोखरा क्षेत्रमा करिब ८०० रोपनी क्षेत्रफलमा तरबुजाखेती गर्न लागिएको छ ।” यस वर्ष ३०० रोपनी क्षेत्रफलका लागि किसानलाई बीउ अनुदानमा वितरण गरिएको जानकारी दिँदै उनले अनुदानबाहेक पनि ठूलो क्षेत्रफलमा किसानहरूले आफैँले बीउ खरिद गरी तरबुजाखेती गर्न लागेको बताए। महानगरपालिकाले बिउ र मल्चिङमा ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ ।
अघिल्लो वर्ष पोखरा महानगरपालिकाको वडा नम्बर १३, १४, ३३ लगायत स्थानमा झण्डै २०० रोपनीमा तरबुजाखेती गरिएकोमा रु दुई करोड बराबरको कारोबार भएको थियो । किसानलाई यसतर्फको आकर्षण गराउन महआनगरपालिकाले तरबुजा मेलासमेत गर्दै आएको छ । उत्पादक किसानका लागि महानगरपालिकाले तरबुजाको न्यूनतम समर्थन मूल्य प्रतिकिलो रु ३५ तोकेको छ । पोखरामा विशेषत: सरस्वती जातको तरबुजा धेरै लगाउने गरिएको कडरियाले जानकारी दिए।