काठमाडौँ । धादिङको बेनीघाट रोराङ गाउँपालिका-५, चरौंदीस्थित भैंसेगौंडा क्षेत्रमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेमध्ये १३ जनाको पहिचान सम्बन्धित निकायले सार्वजनिक गरेको छ।
पोखराबाट काठमाडौँतर्फ गइरहेको माछापुच्छ्रे टुर्स एन्ड ट्राभल्सको ग २ ख नम्बरको यात्रुवाहक बस सोमबार बिहान दुर्घटनामा परेको थियो। घटनामा १९ जनाको मृत्यु भएको पुष्टि भएको छ भने २६ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
पहिचान खुल्नेहरूमा बेलायतकी अन्दाजी २३ वर्षीया डोमिनिका इथान, त्रिपुरासुन्दरी गाउँपालिका-४ निवासी इन्जिनर ठकुरी, शुक्ला गण्डकी नगरपालिका-७ बस्ने ६० वर्षीया विष्णुमाया ढकाल, वालिङ नगरपालिका-१४ निवासी अन्दाजी ६३ वर्षीय चन्द्रबहादुर कुँवर र व्यास नगरपालिकाका अन्दाजी ४५ वर्षीय आमकुमार मल्ल रहेका छन्।
यसैगरी पोखरा महानगरपालिका–३० निवासी अन्दाजी ४० वर्षीय विवेक बस्तोला, पुतली बजार नगरपालिका-६ बस्ने अन्दाजी ४५ वर्षीय घनश्याम सुवेदी, व्यास नगरपालिका-५ निवासी ३९ वर्षीय ओमकुमार श्रेष्ठ, लामाचौरका २६ वर्षीय चालक सुजित नेपालीको पनि पहिचान खुलेको छ।
त्यसैगरी शुक्ला गण्डकी गाउँपालिका-७ बस्ने ५५ वर्षीय रुद्रप्रसाद ढकाल, सोही गाउँपालिका-२ का २० वर्षीय अर्चन पौडेल तथा भीमाद नगरपालिका-६ निवासी ५५ वर्षीय हरिप्रसाद सिक्देलको पनि पहिचान पुष्टि भएको जनाइएको छ।
घटनासम्बन्धी थप विवरण संकलन तथा कारणबारे अनुसन्धान प्रक्रिया जारी रहेको सम्बन्धित निकायले जनाएको छ।