काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १० देखि १५ दिनभित्र ‘अर्थपूर्ण सम्झौता’ गर्न अल्टिमेटम दिएपछि इरानले कुनै पनि सैन्य आक्रमणको ‘निर्णायक जवाफ दिने’ चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा इरानी प्रतिनिधिले यस्तो चेतावनी दिएका हुन् ।
राष्ट्रसंघका लागि इरानी राजदूत आमिर सइद इराभनीले परिषदका सदस्य राष्ट्र र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई सम्भावित अमेरिकी कारवाहीविरुद्ध तत्काल कदम चाल्न आग्रह गरेका छन् ।
आफ्नो मुलुक कुनै किसिमको तनाव वा युद्धको पक्षमा नरहेको पनि उनले स्पष्ट पारेका छन् । यद्यपि उनले आफ्नो मुलुकमाथि आक्रमण भए आफ्नो क्षेत्रमा रहेका ‘दुश्मन शक्तिका सबै आधार शिविर, सबै सैन्य पूर्वाधार जायज निशाना हुने’ चेतावनी दिएका छन् ।