काठमाडौँ । मार्सल ल घोषणा गरी संसद् परिसरमा सेना परिचालन गरेको प्रकरणमा दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक येओललाई अदालतले विद्रोहसम्बन्धी अभियोगमा दोषी ठहर गरेको छ ।
सियोलस्थित अदालतमा बिहीबार सुनुवाइका क्रममा उनीविरुद्धको ऐतिहासिक मुद्दामा फैसला सुनाइएको हो, जसले देशको लोकतान्त्रिक व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ ।
सन् २०२४ डिसेम्बर ३ मा उनले मार्सल ल घोषणा गर्दै व्यवस्थापिकालाई घेरा हाल्न सेना पठाएका थिए । उक्त कदमलाई दशकौँयताकै सबैभन्दा गम्भीर राजनीतिक संकटको सुरुआतका रूपमा हेरिएको छ । विशेष सरकारी वकिलले उनको कार्यले लोकतन्त्रलाई प्रत्यक्ष खतरा पुर्याएको दाबी गर्दै कडा सजाय, मृत्युदण्डसम्मको माग गरेका थिए ।
यद्यपि धेरै विश्लेषकहरूले घटनामा कुनै ज्यानहानि नभएको र सत्ता नियन्त्रणको प्रयास कमजोर योजनाका कारण असफल भएको तर्क गर्दै उनलाई आजीवन कारावास हुन सक्ने अनुमान गरेका छन् । दक्षिण कोरियामा सन् १९९७ पछि मृत्युदण्ड कार्यान्वयन नगरिएकाले त्यसलाई व्यवहारत: स्थगनमा रहेको मानिन्छ ।