विश्वभरी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको दर सुरक्षा निकायमा समेत बढिरहेको छ । मुलुकभर संक्रमणको ग्राफमा वृद्धि भइरहेका बेला हरेक गतिविधिको अग्रपङ्क्तिमा खटिने सुरक्षा निकाय पनि त्यसबाट अछुतो छैन ।
पछिल्लो विवरण अनुसार मा तीन सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी) मा १ हजार ६ सय ३३ जनामा संक्रमण देखिसकेको छ । त्यसमध्ये झण्डै ५० प्रतिशत अर्थात् ८ सय ६१ निको भएर घर फर्किएका छन् ।
सुरक्षा निकायमा गत जेठको पहिलो सातासम्म १२ जनामा मात्रै सङ्क्रमण देखिएको थियो । त्यसपछि सङ्क्रमण दरमा एक्कासी वृद्धि भएको र साउनपछि भने ह्वात्तै बढेको पाइएको छ । सबैभन्दा बढी नेपाल प्रहरीमा सङ्क्रमित भेटिएका छन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले अहिलेसम्म नेपाल प्रहरीका ७ सय ९५ जनामा सङ्क्रमण देखिएको जानकारी दिए । उनका अनुसार उपत्यकामा मात्रै १ सय ६३ जना फेला परेका छन् । कोरोना संक्रमित भएका नेपाल प्रहरीका ५ सयभन्दा बढी निको भएर फर्किसकेको उनले बताए ।
सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक राजु अर्यालका अनुसार बिहीबारसम्म ४ सय ३५ सशस्त्र प्रहरी सङ्क्रमित भएका छन् । त्यसमध्ये १ सय ८९ निको भएको र अन्यको विभिन्न स्थानमा उपचार भइरहेको छ । उपत्यकामा मात्रै ७३ जनामा देखिएको उनले जानकारी दिए ।
नेपाली सेनामा आजसम्म ४ सय ३ जनामा सङ्क्रमण देखिएको छ । अहिलेसम्म १ सय १६ जना निको भएर फर्किसकेका सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताउँछन् । प्राप्त विवरणअनुसार अहिलेसम्म मुलुकभर ३५ हजार ५ सय भन्दाबढी सङ्क्रमित भइसकेका छन् ।