काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि तयार भइरहेका मतपत्र छपाइ कार्यको अवस्थाबारे जानकारी लिएकी छन्।
प्रधानमन्त्री कार्कीले आज जनक शिक्षा सामग्री केन्द्र लिमिटेड अन्तर्गतको छापाखानाको स्थलगत अवलोकन गर्दै मतपत्र छपाइको प्रगति, व्यवस्थापन तथा सुरक्षासम्बन्धी पक्षबारे सम्बन्धित अधिकारीसँग जानकारी लिएकी हुन्।
अवलोकनका क्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी तथा निर्वाचन आयोगका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
निरीक्षणका क्रममा निर्वाचन प्रक्रिया समयमै र विश्वसनीय ढंगले सम्पन्न गर्न आवश्यक तयारी तथा समन्वयका विषयमा समेत छलफल भएको जनाइएको छ।