काभ्रेमा कोरोना संक्रमणबाट ९८ वर्षीय वृद्धको मृत्यु भएको छ । काभ्रेको धुलिखेल ७ का उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनी धुलिखेल अस्पताल पुगेका थिए । मधुमेह र दमको रोगी समेत रहेका उनमा साउन २७ गते कोरोना पुष्टि भएको थियो ।
त्यसपछि अस्पताल नै भर्ना भएर उपचार गराउँदै आएका उनको आज बिहान मृत्यु भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाले जानकारी दिए।
वृद्धको रोग प्रतिरोधक क्षमता कमजोर बताइएकाे छ । रोग प्रतिरोधक क्षमता कमजोर रहेकाहरूको लागि तत्काल प्लाज्मा थेरापीबाट उपचार गर्नुपर्ने डाक्टरको सुझाव थियो। तर, आवश्यक पर्ने रगत अभावका कारण उनको समयमै उपचार हुन नसकेको बताइएकाे छ ।
बाहिर नजाने गरेका उनीसँग छोराबुहारी रेखदेख र सम्पर्कमा थिए। ती दुवै जनाको पिसिआर पोजेटिभ देखिएको छ। दुवै बानेश्वरको घरमै आइसोलेसनमा बसेका छन्। यी वृद्धको परिवारमा १२ जना छन्। तीमध्ये दुई जना संक्रमित देखिएका छन्। ९ जनाको पिसिआर नेगेटिभ आएको छ भने एक जनाको रिपोर्ट आइनसकेको बताइएकाे छ ।
योसँगै काभ्रेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि साउन २६ गते पाँचखाल १ की ५० वर्षीया महिलाको ललितपुरस्थित किस्ट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।