काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
एक जनाको भने रिपोर्ट आउन बाँकी छ ।
उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए । सोमबार र्यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।
उनीहरु मध्ये दुई जना (छोरा र बुहारी) को रिपोर्ट आएको छ र, कोरोना संक्रमण पुष्टि भएको छ । बाँकी एक (आमा) को रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।
सनसिटीमा पाँचवटा विल्डिङ छन् । अहिले कोरोना संक्रमण देखिएको परिवार ए बिल्डिङमा बस्दै आएका थिए ।
काठमाडौंको मुलपानीमा रहेको नगर अस्पतालमा ३६ जनाको र्यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा सनसिटी अपार्टमेन्टमा रहेका तीन जनामा कोरोना पोजेटिभ देखिएको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्ण हरी थापाले जानकारी दिएका छन् ।
थापाले केटीएम दैनिकसँग भने ” कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ मा संचालनमा रहेको मुलपानी नगर अस्पतालमामा आज बिदेश बाट आएकाहरू मध्ये ३६ जनाको र्यापिड डायग्नोस्टिक टेस्ट गरिएको थियो । सो क्रममा एकै परिवारका ३ जनाको र्यापिड डायग्नोस्टिक टेस्ट पोजेटिभ आएको छ ।”
र्यापिड टेष्टमा उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि अपार्टमेन्टलाई प्रहरीले शील गरेको छ । त्यहाँ रहेका मानिसहरुलाई बाहिर जान दिइएको छैन ।