भारतमा पछिल्लो २४ घण्टामा विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन्।
पछिल्लो २४ घन्टामा त्यहाँ ६४ हजार १ सय ४२ नयाँ संक्रमित थपिएका छन्। यो संख्या कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुकहरुको सूचीको शीर्ष र दोस्रो स्थानमा रहेका अमेरिका र ब्राजिलमा थपिएका नयाँ संक्रमितभन्दा बढी हो।
बिहिबार पनि भारतमा ठूलो संख्यामा संक्रमितहरु फेला परेका थिए । हिजो भारतमा ६७ हजार भन्दा बढी संक्रमित फेला परेका थिए । हिजोको तुलनामा आजको संख्या केही कम भएतापनि संक्रमणको ग्राफ दैनिक उकालो लागिरहेको छ ।
योसँगै भारतमा संक्रमितको कुल संख्या २४ लाख ६१ हजार ४ सय ४२ पुगेको छ। भारतमा संक्रमणमुक्त हुनेको संख्या पनि बढिरहेको छ। शुक्रबारसम्म निको हुनेको संख्या १७ लाख ५१ हजार ८ सय ४६ पुगेको छ।
यस्तै, पछिल्लो २४ घन्टामा त्यहाँ १ हजार ६ जनाको संक्रमणबाट मृत्यु भएको छ। योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ हजार १ सय ५३ पुगेको छ। त्यहाँ अब ६ लाख ६१ हजार ५ सय ४३ सक्रिय संक्रमितको उपचार चलिरहेको छ जसमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था चिन्तजक रहेको बताइएको छ ।
उता, पछिल्लो २४ घण्टामा ब्राजिलमा ५४ हजार ४०२ र अमेरिकामा ५३ हजार ६२६ जना कोरोना संक्रमित भेटिएका छन्। ब्राजिलमा कोरोनाबाट थप १ हजार २०० को मृत्यु भएसँगै मृतकको संख्या १ लाख ५ हजार नाघेको छ। यस्तै, अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार २२१ जनाको मृत्युसँगै संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार ३०० नाघेको छ।
अमेरिकामा उपचाररत २४ लाख १० हजार ६६० जना सक्रिय संक्रमितमध्ये १७ हजार ३३५ जनाको स्वास्थ्य अवस्था जटिल रहेको वर्ल्डोमिटरको तथ्यांकले देखाएको छ। यस्तै, ब्राजिलमा सक्रिय संक्रमितको संख्या ७ लाख ६२ हजार ७७३ छ। जसमध्ये ८ हजार ३०० भन्दा बढीको अवस्था गम्भीर छ।