स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विमलराज कँडेल कोरोना भाइरसबाट संक्रमित हुने सबैभन्दा उच्च तहका प्रहरी अधिकृत हुन् ।प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी कर्मचारीमध्ये सबैभन्दा माथिल्लो तहका १ जना एसपीमा कोरोना संक्रमण देखिएको छ । र, ती एकजना एसपी कँडेल नै हुन् ।
कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न अग्रपंतिमा खटिएर काम गर्नुपर्ने दायित्व निर्वाह गर्दा गर्दै उनी आफैं संक्रमित बने । तर, संक्रमण भएको छोटो समयमै कोरोनालाई जित्न पनि सफल भए ।
साउन ६ गते स्याङ्जाका ३ जना प्रहरी (सुरक्षाकर्मी)मा कोरोना पोजेटिभ देखिएपछि साउन ७ गते एसपी कँडेलको पनि स्वाब संकलन गरिएको थियो । स्वाब परीक्षण नतिजा उनले अपेक्षा गरेअनुसार थिएन्, अर्थात् उनमा कोरोना पोजेटिभ देखियो ।
साउन १२ गते आएको रिपोर्टअनुसार उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीसहित अन्य ४० जना सुरक्षाकर्मीमा पनि कोरोनाको संक्रमण देखिएको थियो ।
संक्रमण पुष्टि हुनु पहिले नै स्वास्थ्यप्रति सचेत रहेका कँडेलले कोरोनाको संक्रमण जित्न थप सावधानी अपनाए । सरकारी आवास (क्वार्टर)मै आइसोलेसनमा बसेका कँडेलले ९ दिनमा नै कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रासद शर्माका अनुसार संक्रमण पुष्टि भएको नवौं दिनपछि गरिएको परीक्षण रिपोर्टमा कँडेलमा कोरोना नेगेटिभ देखिएको छ ।
एसपी कँडेलसँगै अन्य २ जना संक्रमितको पनि रिपोर्ट नेगेटिभ आएको हो । अन्य सङक्रमितमा लामो समयसम्म कोरोना पोजिटिभ देखिरहँदा आफ्नो सर्तकताले चाँडै निको भएको एसपी कँडेलको विश्वास छ
आइसोलेसनमा बसेको समयामा २ गिलास पानीमा रातभर गुर्जो भिजाएर बिहान तताइ एक गिलास मात्रै बनाएर हरेक दिन पिउने गरेको कँडेलले सुनाए । गुर्जोसँगै अस्वगन्धा, तुसली, बोझो खाएको र दिनको डेढ घण्टा शारीरिक व्यायाम गरेको उनी सुनाउँछन् ।
संक्रमण पुष्टि भएपछि माछा मासु नखाएको उनले सुनाए । बेसार, कागती, अदुवा पनि कोरोना जित्ने प्रयत्नमा थप सहयोगी बनेको उनको भनाइ छ ।
संक्रमण पुष्टि नवौँ दिनमा रिपोर्ट नेगेटिभ आए पनि समग्रमा पहिलो स्वाब लिएको चौध दिनमा दोस्रो पटक परीक्षण गरिएको उनले बताए ।
कोरोना सङक्रमणको बेला सञ्चार सेट र मोबाइल फोनबाट ड्युटी गरेका एसपी कँडेलले अब भने भौतिक रुपमै काममा फर्कने बताए ।
बिभिन्न अनलाईनको सहयोगमा