सुदूरपश्चिम प्रदेशमा हालसम्म १ सय ७५ जना ९ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना सङ्क्रमण बढ्दै गएको देखिएको हो ।
एक साताअघि प्रदेशभरिमा ६१ बालबालिकामा कोरोना सङ्क्रमण देखिए पनि सो सङ्ख्या बढ्दै गएको निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताउँछन् । “सङ्क्रमण देखिएका सबै बालबालिका बुवाआमासित भारतबाट फर्किएकाहरु हुन्”, उनले थप प्रष्ट पारे ।
कोरोना सङ्क्रमणबाट बाजुरामा केही समयअघि २ वर्षीया बालिकाको समेत मृत्यु भइसकेको छ । त्यसैगरी कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पतालबाट ११ महिने बालक कोरोना जितेर फर्किसकेका छन् । मङ्गलबार साँझसम्म सुदूरपश्चिमका ९ वटै जिल्लामा गरी २ हजार ४ सय ८३ जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । तीमध्ये ५ सय ७३ महिला सङ्क्रमित छन् ।
“महिलाहरु पनि प्रायः श्रीमान्सँगै भारतबाटै फर्किएका र रोजगारीबाट फर्किएका नै बढी सङ्क्रमित छन्”, अवस्थी भन्छन्, “समुदायमा महिला सङ्क्रमित सङ्ख्या न्यून छ ।” कोरोनाबाट यहाँ हालसम्म पाँचको मृत्यु भइसकेको छ भने ४ सय ७९ सङ्क्रमित निको भइसकेका छन् । यहाँ सबैभन्दा बढी कैलालीका ५ सय ९७ र सबैभन्दा कम दार्चुलामा ४३ जनामा सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।
निर्देशक डा अवस्थीले कोरोना परीक्षणको दायरा बढाउन सुदूरपश्चिममा तीन जिल्लामा पिसीआर मेसिन जडानको काम थालिने जानकारी दिए । “डोटी, बैतडी र कैलालीमा गरी तीन ठाउँमा जडान हुने प्रयोगशालाका लागि सामान आउने क्रम शुरु भइसकेको छ, सात/दश दिनमा सबै सामान आइसक्छ ।”
क्वारेन्टिनलाई आइसोलेसनमा परिणत गरिँदै
सुदूरपश्चिम प्रदेशमा पछिल्ला केही दिनयता सङ्क्रमणको दर तीव्र भएपछि सङ्क्रमितको उपचारका लागि यहाँ स्थापना गरिएका क्वारेन्टिनलाई आइसोलेसन कक्षमा परिणत गरिँदैछ । सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा हालसम्म १ हजार ९ सय ३४ स्थानमा करिब ७४ हजार ४ सय ३४ श्ययाको क्वारेन्टिन रहेको छ ।
यहाँका क्वारेन्टिनमा १३ हजार १ सय ७८ बसिरहेका छन् । बितेको १ महिनामा सुदूरपश्चिमका सीमानाका हुँदै १ लाख १५ हजार नागरिक भारतबाट स्वदेश भित्रिएको तथ्याङ्क छ । तीमध्ये अधिकांश क्वारेन्टिन बसेर घर फर्किसकेका छन् ।
त्यसैगरी स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा १५ स्वास्थ्यकर्मीसहित अग्रमोर्चामा खटिने २४ जनामा सङ्क्रमण देखिएको छ । निर्देशक डा अवस्थीले सङ्क्रमित बढेपछि क्वारेन्टिनलाई आइसोलेसन कक्ष बनाउन थालिएको बताए। “पहिले पनि केही स्थानीय तहले आइसोलेसन कक्ष बनाएका थिए”, उनी भन्छन् , “सङ्क्रमित बढ्न थालेपछि क्वारेन्टिनलाई नै आइसोलेसन कक्ष बनाउन थालिएको हो ।”
(रासस)