काठमाडौँ । उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालमा आज पनि तनावग्रस्त भएको छ ।
अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले आज पनि प्रदर्शन गरेपछि अस्पतालमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् ।
प्रहरीले अस्पताल घेरेर राखेको छ भने बाहिर ठुलो संख्यामा मृतकका आफन्त र परिवारका सदस्यहरू भेला भएका छन् । उनीहरूले आज पनि अस्पताल परिसरमा ढुंगामुढासहित तोडफोड गरेका हुन् । प्रदर्शनकारीहरू ढुंगामुढासहित अस्पताल पुगेका थिए ।
गत शुक्रबार मिना राईको सुत्केरी गराउने समयमा मृत्यु भएको थियो । अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरूको छ ।
अहिलेसम्म अस्पतालले संवादका लागि समेत नबोलाएको उनीहरूको भनाइ छ । आक्रोशित आफन्तहरूले हिजो अस्पतालमा सामान्य तोडफोड समेत गरेका थिए ।