चट्याङ लागेर सप्तरीमा ३ जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् ।
आज विहान नुहाउन गएका बेला कोसी ब्यारेजको पुल नजिक चट्याङ लागेर २ जनाको मृत्यु भएको हो । महदेवा गाउपालिका २ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी खेतमा धान रोप्न गएको बेला चटयाङ लागेर डाक्नेश्वरी नगरपालिका ९ लछनपटीका ३० वर्षीया ललितादेबी यादवको मृत्यु भएको छ । चट्याङ लागेर राजगढ गाउँपालिका बेल्ही चपेनामा दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा केसी साह र आशा मण्डल रहेका छन । दुबैको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको छ ।
त्यस्तै, हावाहुरीसँगै बुधबार राति परेको चट्याङले लागेर मकवानपुरमा २ महिलाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने मकवानपुरको बकैया गाउँपालिका–२ कालापानीमा परेको चट्याङले लागेर २५ वर्षीया बिना घिसिङ र १७ वर्षीया सम्झना घिसिङको मृत्यु भएको हो ।
चट्याङ लागेर १४ वर्षीय किरण जिम्वा घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य चौकी धियालमा उपचार भइरहेको छ । घरमा सुतिरहेको अवस्थामा चट्याङ परेको थियो । सो क्षेत्रमा बारम्बार चट्याङका घटना हुने गरेका छन् ।
चट्याङबाट कसरी बच्ने?
चट्याङबाट बच्ने उपाय सावधानी हो।
चट्याङबाट बच्न घरको बिजुली प्रवाह हुने ‘वायरिङ’मा विशेष ध्यान दिनुपर्छ। यसका लागि ‘अर्थिङ’ उपयुक्त माध्यम हो, जसले
घरमा चुहावट भएको करेन्टलाई बाहिर जमिनसम्म पुग्न दिँदैन।
अर्थिङमा एकप्रकारको ‘इलेक्ट्रिक यन्त्र’ जडान गरिएको हुन्छ।
‘अर्थिङ’ले बिजुली चम्किँदा निस्केको करेन्ट र घरको करेन्ट जोडिन दिँदैन। जसले गर्दा घर सुरक्षित हुन्छ।
बिजुली चम्किएका बखत घरबाहिर वा खुला ठाउँमा नहिँड्नु चट्याङबाट मुक्त हुनु पनि हो।
ठूला रूखका फेदमा बस्नु हुदैन । ‘बिजुली चम्केका बेला इलेक्ट्रिक यन्त्रहरू प्रयोग गर्नुहुँदैन ।
त्यसैगरी, अग्ला टावरहरू चट्याङका सिकार हुन्। चट्याङबाट जोगाउन ती टावरमा विशेष किसिमले ‘अर्थिङ’ जोडिएको हुन्छ। तैपनि चट्याङले बेला–बेला टावरमा क्षति गरिरहेकै हुन्छ। यस्ता टावरको वरपर रहने घर तथा बस्ती बढी जोखिमपूर्ण हुन्छन्।
नेपालमा बढीजसो चैत, वैशाख र जेठ महिनामा चट्याङले असर गर्छ। जलवायु परिवर्तनले पनि चट्याङ निम्त्याइरहेको हुन्छ। जलवायुको परिवर्तनको कुनै नियम छैन।