
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा लुटिएका प्रहरीका हतियार निर्वाचन अघिसम्म रिकभर गरिने बताएका छन् । ती हतियारहरू राजनीतिक दलहरूले दुरुपयोग गर्न नहुनेमा उनले जोड दिए ।
आज आयोजित पत्रकार सम्मेलनमा अर्याललाई लुटिएका हतियारले चुनावमा जोखिम उत्पन्न गर्दैन ? भनेर सोधिएको थियो । जवाफमा अर्यालले हतियारहरू कुनै पनि संगठित गिरोहको हातमा नपुगेको दाबी गरे ।
उनले भने, ‘हाम्रो विश्लेषणले ती हतियारहरू कुनै संगठित गिरोहको हातमा पुगेको छैन र पुग्दैन भन्ने नै छ । उनीहरू असंगठितरुपमा लुकिछिपी बसेका छन् । त्यसलाई जसरी पनि रिकभर गर्छौँ । ती भागेका कैदी बन्दीहरू र हतियारलाई राजनीतिक दलले प्रयोग गर्ने वा सहयोग लिने छैनौँ भनेर स्वघोषणा गर्नुपर्यो । अरूलाई प्रयोग गर्न दिँदैनौँ ।’
भागेका कैदी बन्दीलाई राजनीतिक गतिविधि वा सरकार र व्यवस्था विरोधी क्रियाकलापमा प्रयोग नगर्ने भनेर राजनीतिक दलले घोषणा गर्नुपर्ने उनको माग छ ।