इजरायलका लागि नेपालको आवासीय राजदूत कान्ता रिजाललाई साईप्रसको लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरिएको छ ।
राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले रिजाललाई साईप्रसको लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको जनाएको छ ।
कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम रिजाल नियुक्त भएकी हुन् । संविधानको उक्त धारामा राष्ट्रपतिले समावेशी सिद्धान्तको आधारमा नेपाली राजदूत र कुनै खास प्रयोजनको लागि विशेष प्रतिनिधि नियुक्ति गर्न सक्ने व्यवस्था छ ।
रिजाल २०७९ साल असार १२ गते इजरायलको राजदूतमा नियुक्त भएकी थिइन् । पाँचथरमा जन्मेकी रिजाल पुराना कांग्रेस नेता गणेश रिजालकी छोरी हुन् । गणेश रिजाल पाँचथरका पूर्व कांग्रेस पार्टी सभापती हुन् । उनी २०१५ सालका सासंद समेत हुन् ।