
काठमाडौं । भारतीय दूतावास काठमाडौंले आज नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ ।
नेपालका लागि भारतका राजदूत श्री नवीन श्रीवास्तवले नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईको उपस्थितिमा उक्त एम्बुलेन्स तथा स्कुल बसका चाबी हस्तान्तरण गरेका हुन् ।
विभिन्न जिल्लाका नगरपालिकाका मेयर, गाउँपालिका प्रमुख, लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी, समाजसेवी आदिको सो समारोहमा उपस्थिति थियो ।
नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रको उच्च प्राथमिकतालाई ध्यानमा राख्दै भारत सरकारले सन् १९९४ यता भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ ।
उक्त समारोहमा बोल्दै राजदूत श्रीवस्तवले उक्त एम्बुलेन्स तथा स्कुल बसको हस्तान्तरण स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेका प्रयासलाई थप बलियो बनाउन नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारको लामो समयदेखिको परम्परा रहेको बताए ।
उनले यो कार्यक्रम भारत र नेपालबीचको बलियो विकास साझेदारीकै एक अंशको रुपमा रहेको जानकारी दिए ।
सोही अवसरमा बोल्दै मन्त्री राईले भारत सरकारको सहयोगमा नेपालमा जारी विकास परियोजनाको सराहना गरे । उनले ती परियोजनाले दुई देशबीचको जनता-जनताबीचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउदै लैजाने दाबी गरे ।
मन्त्री राईले नेपालको हिमालदेखि तराईसम्मका विद्यालय तथा स्वास्थ्य संस्थालाई सहयोग गरेकोमा भारत सरकारको प्रशंसा समेत गरेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सन् १९९४ यता भारतले आजको सहित हालसम्म नेपालका विभिन्न जिल्लामा रहेका विभिन्न संघ संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप उपलब्ध गराइसकेको उक्त कार्यक्रममा जानकारी दिइयो ।