प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सातै प्रदेशमा चुनावी सभा गर्ने भएको छ ।
आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै कात्तिक १८ गतेदेखि सुदुरपश्चिमको दार्चुलाबाट सुरु हुने चुनावी सभामा अध्यक्ष केपी शर्मा ओलीले सातै प्रदेशमा सम्बोधन गर्ने जनाइएको छ । एमालेले कात्तिक १८ गते दार्चुलादेखि मंसिर १ गतेसम्म चुनावी सभाको आयोजना गर्न लागेको हो ।
हिजो काठमाडौंको एक होटलमा चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमालेले १५० सिट ल्याउने गरी चुनावमा होमिएको बताएको छ ।
पार्टीको निर्वाचन घोषणा पत्र सार्वजनिक गर्न मंगलबर आयोजित कार्यक्रममा दुईतिहाई बहुमतको सरकार नटिकेको भनी भ्रम सिर्जना गर्ने प्रयास भइरहेको सन्दर्भमा स्पष्ट गर्दै अध्यक्ष ओलीले २०७४ को निर्वाचनमा नेकपा (एमाले) लाई बहुमत प्राप्त भएको थिएन भन्ने कुरामा स्पष्ट हुन आग्रह गरे ।
अध्यक्ष ओलीले भने– ‘नेकपा (एमाले) प्रतिनिधि सभाका २७५ सिट मध्ये १२१ सिटमा मात्र विजयी भएको थियो, सरकार गठनका लागि १३८ चाहिन्थ्यो । एमालेसँग बहुमत थिएन ।’ ‘निर्वाचनमा माओवादी केन्द्रसँग संयुक्त घोषणापत्रमा मिलेर लडे पनि निर्वाचनपछि सरकार गठन गर्ने कुरामा माओवादीले अरुसित कुरा गर्न थाल्यो ।
निर्वाचन आयोगले निर्वाचन परिणाम नै समयमा राष्ट्रपतिकहाँ पठाएन । मंसिर ४ गते निर्वाचन सम्पन्न भए पनि प्रधानमन्त्री नियुक्ति नै फागुन ३ गते पुग्यो ।’ चर्चा गर्दै अध्यक्ष ओलीले सरकार गठनपछि पनि नियोजित रुपमा सरकारका काममा हरदम अवरोध भएपछि सरकार टिकाउन नसकिएको स्पष्ट गर्नुभयो ।
अध्यक्ष ओलीले एमालेलाई कमजोर पार्ने तत्व बाहिरिएकाले आगामी निर्वाचनमा पाँचबर्ष सरकार सञ्चालन गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाँक्षा पूरा गर्नका लागि एमालेलाई विजयी बनाउन आग्रह गरे।