नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आफ्नो पार्टीले एकल बहुमत ल्याउने दाबी गरेका छन् ।
मंगलबार काठमाडौंमा पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेलगत्तै आयोजित बहस कार्यक्रममा भाग लिँदै उनले अरू पार्टीका लागि भने एकल बहुमत विल्कुलै सम्भव नभएको बताए । कार्यक्रममा सहभागी एक महिलाले नेपालको संविधानअनुसार कुनै एक पार्टीले बहुमत ल्याउन असम्भव रहेको प्रश्न गरेपछि उत्तर दिँदै उनले आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरे ।
२७५ सिट मध्ये १३८ सिट प्रतिनिधि सभामा आए बहुमत पुग्ने उल्लेख गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टीले प्रतिनिधि सभामा १५० सिटको गन्तव्य बनाएर निर्वाचनमा होमिएको जवाफ दिए ।
उनले एमालेले सरकारमा रहेर गरेका कामहरू जनताले देखेकाले पनि आगामी निर्वाचनमा बहुमत दिने तर्क समेत पेश गरे । अध्यक्ष ओलीले एमालेले आगामी निर्वाचनमा पपुलर मत ५१ प्रतिशत भन्दा बढी ल्याउने बताए ।