काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका सडक विभाग र यातायात विभागको भवनमा लागेको आगो दमकलको सहयोगमा निभाउन थालिएको छ ।
‘जेन जेड पुस्ता’को प्रदर्शनका क्रममा मंगलबार यी दुई विभागका भवनमा पनि आगजनी गरिएको थियो ।
मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीले मन्त्रालयको भवनमा खासै क्षति नभए पनि मन्त्रालयअन्तर्गतका सडक विभाग र यातायात विभाग भने जलेर सखाप भएको जानकारी दिए ।
“अहिले पनि यी भवनभित्र आगो बलिरहेको छ । ललितपुर महानगरपालिकाको दमकल ल्याएर आगो निभाउने प्रयास भइरहेको छ,” उनले भने, “भवन मात्रै होइन गाडीहरू पनि जलेका छन् । कति गाडी जले र भवनको क्षति कति भयो भन्ने विवरण आइसकेको छैन ।”
प्रवक्ता अधिकारीका अनुसार क्षतिको विवरण छिट्टै संकलन हुनेछ । सिंहदरवारका कलात्मक प्रशासनिक भवनहरू आगलागीका कारण खरानीमा परिणत भएका छन् ।
प्रदर्शनकारीले सिंहदरबार, सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत, विशेष अदालत, शीतल निवासलगायतका विभिन्न मुख्य सरकारी संरचनामा आगजनी गरेका थिए ।
सिंहदरवार पुगेका कर्मचारीले जलेका भवनको सरसफाइ गर्न थालेका छन् ।