
काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा आज पनि छलफल हुने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश कार्की र संविधानविद्हरुको उपस्थितिमा बिहीबार दिनभर र रातभर लामो बैठक गरेका थिए । तर संसद विघटन गर्ने कि नगर्ने भन्ने विषयमा सहमति नजुटेपछि छलफल निष्कर्षमा पुग्न सकेन ।
आज शुक्रबार बिहान ९ बजेदेखि पुनः बैठक बस्ने र अन्तिम निष्कर्ष निकाल्ने तयारी गरिएको स्रोतले जनाएको छ । यद्यपि, कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री वा मन्त्रिपरिषद् अध्यक्ष बनाउने विषयमा भने प्रमुख दलबीच प्रारम्भिक सहमति भइसकेको बताइएको छ ।