चार्ड पर्व सुरु भएसँगै सबैको परिवारमा मिठो परिकार बनाउने भन्ने चलन नै रही आएको छ । र, त्यो मिठो परिकार भनेकै पशुपन्छीको मासु हो । नेपालमा ग्रामीण भेगहरूमा अझै पनि दसैँ तिहार सुरु भए लगत्तै मासु नै खानुपर्छ भन्ने प्रचलन छ । अर्को तिर, दसैँको बेलामा विभिन्न मठमन्दिरहरुमा धर्मको नाममा बली दिने परम्परा पनि उत्ति कै छ ।
पछिल्लो समय बली दिने प्रथा अन्त्य गर्नुपर्छ, काटमार गर्नु हुँदैन, मार्नु धर्म भए पाप के होला ? लगायतका आवाजहरू पनि सुनिने गरिन्छन् । विशेष गरी यी आवाजहरू दसैँको बेलामा सुन्ने गरिन्छ । बली दिने तथा काटमार गर्नुहुँदैन भन्ने अभियान पनि चलाइएको छ । यसै सन्दर्भमा दसैँ लगायतका चार्ड पर्वमा बली दिनु कत्तिको उचित छ लगायतका विषयमा शाकाहारी अभियन्ता तथा नेपाल शाकाहारी पार्टीका अध्यक्ष समेत रहेका राधे खड्का सँग गरिएको कुराकानीको सम्पादित अंश :
तपाईँहरूले अभियान कहिलेदेखि सुरु गर्नु भयो ? यो बिचमा के के काम गर्नु भयो ?
म अहिंसामा विश्वास गर्छु । हाम्रो शास्त्रले पनि त्यो भनेको छ । पछिल्लो अभियान सँगसँगै हाम्रो यो अभियानमा निशुल्क कपडा बैङ्क,त्यस्तो खालको कपडा बैङ्कहरू पनि सुरु गरे । त्यसपछि २–३ वर्ष कोभिडको समय थियो,त्यस बेला निःशुल्क खाना बैङ्क, फुड बैङ्क भनेर मैले सुरु गरे र देशैभरि त्यो एकदमै चर्चित पनि भयो । सञ्चारमाध्यमले पनि राम्रै साथ दिनुभयो । त्यो लगत्तै अक्सिजन बैंक, औषधी बैङ्क पनि सुरु गरेको थिए । त्यस क्रममा हामी लगभग ६६ वटा जिल्लामा पुग्यौँ ।
विशेष गरी हामीले शाकाहारी अभियान सधैँ नै चलाइ रहन्छौँ । त्यसको लागि नेपाल शाकाहारी पार्टी भन्ने एउटा संस्था पनि छ । म उक्त संस्थाको अध्यक्ष पनि हुँ । अहिले यो दसैँको समयमा हाम्रो कार्यक्रमहरू निरन्तर भई राख्छन् ।
दसैँमा बलिहरू चढाउने, काटमार गर्ने खालका गतिविधिहरू धेरै हुन्छन्, यसमा तपाईँको धारणा के छ ?
हाम्रो परापूर्व कालमा एउटा बलि राजा भन्ने हुनुहुन्थ्यो, एक जना भिक्षु माग्न आउँदा बलि राजाले उहाँलाई आफ्नो सर्वस्व नै आफ्नो घर, जग्गा, धन सम्पत्ति सबै नै दान गर्नुभयो । बलि भनेको त्यही कारणले त्याग हो । हामीले यसलाई आधुनिक युगमा आएर त्यो बलि शब्दको नै अवमूल्यन हुन पुगेको छ । हाम्रो बुझाइमा बलि भनेको आफूभन्दा कमजोर, आफूभन्दा शक्ति कम भएको निर्दोष अबोध पशुपन्छीहरूलाई भगवान्को नाममा मन्दिरमा लगेर मार्नु, काट्नु भन्ने सोच्छौ त्यस्तो होइन । बलीको अर्थ भनेको त्याग र उपहार हो । त्यागलाई बलीको अर्थमा लानु पर्ने तर अहिले आधुनिक युगमा आएर बलिलाई पशुपन्छीको मारकाटको रूपमा लियौँ । बलि शब्द कै अवमूल्यन हुन गएको जस्तो लाग्छ ।
यस्तो प्रकारको बलि प्रथा रोकिसकेपछि परिवारमा केही फरक पाउनु भयो ? साथै, यसले के–कस्ता प्रभावहरू पार्ने गर्छ, तपाईँलाई के लाग्छ ?
प्रायः बली दिने काम गरिएकै हुन्छ । बली दिएन भने हाम्रो सर्वस्व नै जाने हो कि, हामीलाई कुनै रोग व्याधले सताउने हो कि, हाम्रो घरमा बिरामी भएर कोही मृत्युवरण नै पो गर्ने हो कि भन्ने खालको भ्रम मानिसहरूमा छ । वास्तवमा त्यो होइन । हाम्रो पनि कूल देउता हुनुहुन्छ,त्यहाँ पहिला बोका र हाँसको बली दिने चलन थियो । हामीले पछि बली भनेको उपहार र त्याग रहेछ भनेर बुझिसकेपछि हाम्रो परिवारभित्र पनि त्यो प्रथा हट्दै गएको छ ।
अहिले बलीको रूपमा नरिवलको पूजा गर्ने चलन चलाए । कतिपयले चाहिँ हाम्रो धर्म,हिन्दु परम्परा अनुसार विभिन्न पूजाको माध्यमबाट भगवाललाई उपहार पनि दिनुहुन्छ । त्यसपछि हाम्रो परिवारमा त्यस्तो नराम्रो केही भएको छैन । जबदेखि यो बली प्रथा दिन छोड्यो तबदेखि झन्झन् राम्रो हुँदै आएको छ ।
पहिला हामी न्यून वर्गीय परिवार थियौँ । अहिले मध्यम वर्गीय हुँदै गयौँ किनभने त्यो बलीको बोका, खसीको अनावश्यक खर्च पनि कटौती हुनेभयो । त्यो देखासिकीबाट पनि हामी बच्यौँ र हाम्रो परिवारमा नराम्रो घटना भन्दा पनि अझ राम्रो–राम्रो कुराहरू झन् बढ्दै गएको मैले अनुमान गरेको छु । मान्छेहरूले बली गरेन भने, पशुपन्छीको काटमार भने यस्तो हुन्छ, उस्तो हुन्छ भन्नु मूर्खता र भ्रम हो । यस्तो भ्रमलाई पुजारीहरूले फैलाउनु भएको छ । किनकि यति नभन्ने हो भने उहाँको कमाउने भाँडो पनि सकिन्छ । पुजारीहरूले पनि यो कुरालाई आत्मसात् गरिदिनुभयो भने राम्रो हुन्थ्यो कि ।
बली दिने भए घरको लालपुर्जा नै दिए पनि भयो भगवाललाई, आफ्नो शेयरको कागज, धन सम्पत्ति बैङ्कमा राख्नु सट्टा मनकामना, दक्षिणकालीमा लगेर दिए भयो नि । किन त्यो खसी बोका। उसको पनि परिवार छ, आमाबुबा हुन्छ साथै छोराछोरी हुन्छ । त्यसो भएर जनावरमाथि गर्ने नराम्रो व्यवहार अरू देशमा भन्दा नेपालमा अझ बढी क्रूर छ । भारतमा पनि यो चलन थियो, महात्मा गान्धीले यो प्रथाको अन्त्य गर्नु भएको थियो ।
गढीमाईमा संसारको सबैभन्दा बढी भैँसीको पाडा र बाख्राको पाठा–पाठी ल्याएर चढाउने गर्दछन् । नेपालको भन्दा भारतको बिहारतिरको मानिसले त्यो अन्धविश्वासको पछाडि लागेर छोरा होस, सम्पत्ति नहुनेको सम्पत्ति होस भनेर त्यहाँ आएर बलि चढाउने गर्दछन् ।
त्यो कर्मले गर्दा नेपालको यति बदनामी भएको छ, त्यसमा म नै अगाडी बढेर हामीले एउटा अभियान पनि चलायौ । बलिकोसट्टा १ हजार ८ नरिवल चढाऔँ भनेर त्यो काम पनि भयो । प्रत्येक ४–४ वर्षमा त्यहाँ मेला लाग्छ । फेरि मेला हुदैँछ, त्यसमा भारत सरकारले पनि हामीलाई सहयोग गर्यौ र नेपालीहरूले पनि धेरै सहयोग गर्नुभयो ।
त्यहाँ लाखौँको हिसाबमा बली हुन्थ्यो तर यसपालि हामीले त्यसलाई ३० हजारमा झारेका छौँ । अबको पटक सकेसम्म शून्य बनाउने, नभए कम गराउने भनेर भैँसी बचाऔँ, पाठा बचाऔँ अभियान भनेर पनि चलाइ रहेका छौँ। हाम्रो आश्रम पनि छ, नवजीवन परोपकार समाज भन्ने गगंबुमा । त्यहाँ सडकको मानवहरू पनि राख्छौँ, सडकका पशुपन्छी पनि राख्छौ । हामी मान्छे भएर किन पशुपन्छीहरूको काल भन्ने उनीहरूलाई हामीले जन्माइ दिएको होइन । उनीहरूको पनि आफ्नो आयु हुन्छ, पूरा आयु बाँचुन् भनेर पनि हामी काम गरिरहेका छौँ ।
तपाईँहरूको यो अभियान बली दिनुहुँदैन भन्ने मात्र हो कि काटमारको पनि विरुद्धमा हो ?
हामी केहीको विरुद्धमा होइन सचेतनाको कार्य कार्यक्रम गर्दछौँ । मान्छेलाई थाहा नै हुदैँन् । फूलहरूको फूल कै परिवार हुन्छ, काँडाहरूको काँडा कै परिवार हुन्छ, हामी मान्छेहरूको हाम्रै परिवार हुन्छ । मान्छेको संवेदना मान्छेले नै बुझ्छ, त्यसै गरी जनावरहरूको पनि परिवार हुने भएको हुनाले उनीहरूको दुःख उनीहरूले नै बुझ्छन् । मान्छेले त्यो दुख बुझ्नै चाहादैँन्, केबल हाम्रो खानेकुरा हो मात्रै सोच्छ । त्यो खानेकुरा होइन, यो हाम्रो परिवारभित्रको सदस्य हो । यो पृथ्वी सबैको साझा घर हो, भन्ने खालको मानसिकता मानिसमा आयो भने यो सबै मेरो घरको सदस्य हो, मेरो घरको छोरा छोरी, मेरै समुदायको एउटा प्राणी हो भन्ने खालको धारणा आउँछ ।
हिन्दुहरूको देश, हिन्दु भनेको हिंसा त्यागेका, हीन भावना त्यागेका मान्छेहरू नै हिन्दु हुन् । हिन्दु धर्ममा कँहीकतै पनि बली दिनुपर्छ भनेर भनिएको छैन । कतिपय ठाउँमा, कुनै कुनै तन्त्रमा चाहिँ बलि गर्नुपर्छ भन्छ, पञ्च बलि भन्छ त्यो भनेको काम, क्रोध, लोभ, मोह, अहङ्कारहरूलाई त्याग गर्नु हो ।
त्यो ढुङ्गाको मूर्ति मान्छेले बनाएको हो, एउटा प्रश्न छ मान्छेले भगवान् बनायो कि भगवान्ले मान्छे?यसो हेर्दा त मन्दिर त मान्छेले बनाएको हो, त्यो मूर्ति पनि मान्छेले बनाएको हो त्यही कारणले विचार गर्दा मान्छेले पो भगवान् बनाएको रहेछ । मान्छेले क्रिश्चियन, हिन्दु, बौद्ध, मुस्लिम भनेर जन्मायो सबै मान्छेले जन्माएको रहेछ । भगवान् भनेको त प्रकृति रहेछ त्यही कारणले गर्दा त्यो ढुङ्गाको मूर्ति अथवा तस्बिरले त मलाई खसी, बोका, कुखुरा चाहियो भनेर कहिले पनि भनेको सुनिदैन् ।
मार्नु धर्म भए पाप के होला ?मार्नु नै धर्म हुन्छ भने यो संसारमा पाप चाहिँ के हो ?बचाउनु पो धर्म हो त विशेष गरेर दसैँ र अन्य चाडपर्वमा पनि हामी धेरै नेपालीहरू माछा मासु, जाँड रक्सी, चुरोट, सुर्तीहरू प्रयोग गर्छौ । त्यसले अनावश्यक खर्च पनि भइरहेका हुन्छ र विभिन्न वैज्ञानिक अनुसन्धान अनुसार माछा मासु खानाले रक्तचाप, मुटुको रोग, कोलेस्ट्रोल, हाइपर टेन्सन जस्ता रोगहरू पनि हुन्छ । त्यस कारणले हामीले पशुपन्छीहरूलाई मार्नु हुँदैन, उनीहरू पनि हाम्रो परिवार हो भन्ने किसिमको अभियानहरू अगाडि बढाइ रहेका छौँ ।
पशुपन्छीलाई नै पाल्न हुँदैन भन्ने तपाईँको विचार हो ?
हो, कोही–कोहीले नेपालमा जीवनयापन गर्नको लागि गाई पालन गर्छ तर अहिले ठुला ठुला फर्म हुन्छ, त्यहाँ सय–दुई सय र सो भन्दा बढी गाईलाई पालेको हुन्छ । मान्छेलाई डोरीले बाँधेर राख्यो भने कस्तो हुन्छ?जेलभित्र राखेको मान्छे कस्तो हुन्छ । त्यसै गरेर एउटा चेनमा राखेको पशुपन्छी तिनीहरूलाई त वास्तवमा चेनमा राख्ने होइन नि, तर बाँधेर राख्दा उसलाई एक किसिमको जेलभित्र बसेको जस्तो त भइहाल्छ ।
फर्ममा त झन् सानो ठाउँ हुन्छ,उसको जीवन नै बस्ने, उठ्ने र दूध दिने मात्रै हुन्छ, फेरि दूध दिने काम सकिएपछि त्यो अन्तिममा मासु भएर जान्छ । जस्तै: सबैभन्दा बढी शाकाहारी भारतमा छ भनिन्छ, भारतमा नै सबैभन्दा बढी गाई पाल्छन् र सबैभन्दा बढी गाईको मासु निर्यात हुने पनि भारत नै हो ।
दूधमा पनि त्यस्तो छ, अनि त्यस्तोबाट आएको दूध कस्तो हुन्छ त पछि फेरि बाटोमा छोड्दिने गर्छन् । जसरी बुढो भएका आमा बुबालाई सडकमा छोड्छन् त्यसरी नै बुढो भएपछि गाईलाई बाटोमा छोड्ने गरिन्छ । नेपालमा त मार्ने चलन छैन सडकमा छोड्ने गरिन्छ कतिपयलाई हामीले उद्धार पनि गरेका छौँ । त्यो सडकमा छोडेका देखिने त १ प्रतिशत पनि होइन ९९ प्रतिशत त तस्करी हुने गर्दछ । पश्चिमबाट, काकरभिट्टा तिरबाट हजारौँ गाई बाहिर जान्छ । मानवले मानिसले यदि पशुपन्छीको उत्पादन प्रयोग नगर्ने हो भने मानव आफैलाई पनि गाह्रो हुदैँन् । उनीहरूलाई माया गर्न पाइन्छ, माया गर्नुपर्छ तर उनीहरूलाई पालेर त्यसलाई दुख दिएर त्यसको उपभोग गर्नु भनेको त मानवीय पाप नै हो । संसारमा खाने कुराहरू कति छन्, २ हजार किसिमको त अन्न र फलफूल नै छन् । अन्न फलफूलले मानिसलाई स्वास्थ्य बनाउँछ ।
मानिसले प्रयोग नै नगर्ने हो भने पशुपन्छीहरू पाल्नुको अर्थ के रह्यो र ? पाल्दै पाल्दैन थिए होला नि ?
हो, पाल्दै पाल्दैन नपालेपछि त पानी बच्यो, अन्न बच्यो नि । मानिसले कसरी बुझ्नुपर्छ भने पशुपालन गरिएन भने हामीले खान नपाउने हो कि भन्ने पर्छ नि । मान्छेलाई त्यो १ किलो मासु उत्पादन हुन लाग्ने अन्नले ५ दिनसम्म खान पुग्छ । मान्छेले एकमुस्ट रूपमा मात्र हेर्छ, त्यसको मेहनत कति वर्ष लाग्यो, कति महिना लाग्यो त्यो पनि हेरेको हुँदैन । त्यो पशुपन्छीमा गर्ने मेहनत उसले कृषिमा गर्ने हो भने अथवा अन्य कुनै काममा गर्ने हो भने तपाईँको देख्दा चाहिँ पशुले पैसा दियो कि जस्तो देखियो । तर, वास्तवमा त्यो समयको लगानी, आफ्नो मेहनत, अन्नको लगानी र पानीको लगानी हेर्दा वास्तवमा त्यो पशुपालन भन्दा कृषिले नै मानिसलाई सहज हुन्छ ।
कृषिको कुरा गरिरहँदा राम्रो उत्पादन गर्नको लागि मल पनि आवश्यक हुन्छ, त्यसको लागि पनि त पशुपन्छीको आवश्यकता रहन्छ ?
मलको लागि के छ भने एउटा पशुजन्य मल र एउटा युरिया मल प्रयोग गर्ने चलन थियो । तर, त्यसमा मथिने भन्ने ग्याँस हुन्छ, त्यो ग्याँस संसारभरि भएको कलकारखानाबाट आउने धुवाँ, गाडिबाट आउने धुँवाहरु त्योभन्दा बढी मथिने ग्याँस, त्यो भन्दा बढी अक्सिजनलाई दूषित बनाउने ग्याँस पशुपन्छीको गोबर र पिसाबबाट आउँछ । त्यो मान्छेले महसुस गर्नपर्छ ।
राम्रो अन्न उत्पादन गर्न पशु मल एकदम राम्रो भन्छन्, के हो त ?
जैविक मललाई मानिसले पशुजन्य मल भन्ने सोचेको छ, त्यो पशुजन्य मल होइन । जैविक मल भनेको रुखले उसको पातहरू हुन्छ, उसको फलहरू हुन्छ त्यो आफै झर्छ । त्यसपछि कुहिएर मल बन्छ । रुखको पात, फलहरू झरेर कुहिएर जैविक मलको काम गर्छ ।
पशु मल अन्न उत्पादनको लागि आवश्यक छैन तपाईँको विचारमा ?
आवश्यक छैन, त्यसले त मिथेन ग्याँस उत्पादन गर्छ । पशुको मल नहालीकन उत्पादन नहुने भएर मात्र हालेको हो त्यसलाई बिस्तारै कम गर्दै जानुपर्छ । धानको विषय हेर्दा जमिनलाई मलिलो बनाउने काम चाहिँ त्यो धानको जराले नै गर्छ । हामीले माथिको बाला मात्रै टिप्ने हो त्यसको जरा त माटो मै हुन्छ त्यसले पनि मलको काम गर्ने गर्दछ ।
अन्त्यमा, पशु हत्याहरू बन्द गर्न तपाईँहरूको अभियान त जारी नै छ तर, सरकारको तर्फबाट के गर्दियोस् जस्तो लाग्छ त ?
हामीभन्दा अग्रजहरूले अब आउने पुस्ताहरूले यो कामलाई अगाडि बढाउनु नै हुन्छ होला । अब सरकारले पशु विकास मन्त्रालय बनाएको छ तर हाम्रो चाहाना भनेको पशु कल्याण मन्त्रालय होस भन्ने हो । त्यसले पशुलाई उत्पादन गरेर ठुलो बनाएर एउटा घरको परिवार जस्तो छोरा छोरीलाई हुर्काएर बढाएर उनीहरूलाई त कसैले पनि मार्दैन । राम्रो होस म भन्दा ठुलो मान्छे होस भन्ने चाहाना बाबुआमाको हुन्छ । तर पशुपन्छीलाई सानोमा कति माया गरेर पालेर राखेको हुन्छ ठुलो बनाएपछि त त्यसलाई मारेर काटेर खाइदिन्छ घरको बच्चाहरूलाई कस्तो लाग्छ होला, उनीहरूलाई माया गरेपछि त मार्नु पर्ने रैछ भन्ने जस्तो लागि रहेको हुन्छ ।
त्यस्तो खालको समुदाय, त्यस्तो खालको मानिसको समुदाय सरकारमा छ, त्यो सरकारको मानिसले चाहिँ हाम्रो बुझ्न पर्ने कुरा प्राणी हितको कुरा मानवताको कुरा बुझेकै छैन । त्यस्तो बुझ्ने मान्छेहरू राजनीतिमा जानुपर्यो, मानवता भनेकै प्राणी कल्याण पनि हो भन्ने मानिसहरूको समूह नियम नीति बनाउने स्थानमा पुग्यौँ भने उनीहरूले बुझेर हामीले यो जनावरहरू प्रति गर्नुपर्ने व्यवहारहरू परिवर्तन गर्नुपर्छ भन्ने खालको नीति नियम सरकारले लागू गर्दियो भने देश पनि शान्त हुन्छ, समाज पनि शान्त हुन्छ त्यस्तो खालको मानिस सरकारमा चाहिन्छ ।