नेपाल कम्युनिस्ट पार्टी एमालेका पोलिट्ब्यूरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली सङ्घीय सांसद उठ्न चाहन्थे । एमाले सांसद कृष्णभक्त पोखरेलसँगै ज्ञवालीको पनि नाम चितवन क्षेत्र नं. २ बाट सिफारिस भयो । त्यसपछि, ज्ञवाली प्रदेशमा उठ्न राजी भए, निर्वाचन जितेर जाँदा मुख्यमन्त्री पाउने गरी ।
२०७४ सालमा भरतपुर महानगरपालिकाको मेयर तथा २०६४ मा भएको संविधान सभाको निर्वाचनमा चितवन क्षेत्र नं. २ मा ज्ञवाली पराजित भए । उनकै शब्दमा यस पटक पराजयको श्रृखलालाई रोकेर जितको खोजीमा छन् । क्षेत्र नं. २ को प्रदेश क्षेत्र (ख) बाट एमाले उम्मेदवार रहेका ज्ञवालीका लागि यस पटक सत्ता गठबन्धनका उम्मेदवार उत्तम जोशीको चुनौती सामना गर्नुपर्ने अवस्था छ ।
जोशी कांग्रेस चितवनका पूर्व जिल्ला सचिव हुन् । जिल्लाको तुलनात्मक रूपमा सुगम र सहज भूगोल यो प्रदेश क्षेत्रमा रहेको छ । यो प्रदेश क्षेत्र (ख) मा भरतपुर महानगरपालिकाका ७ वडाहरू वडा नं. २,४,५,७,१०,११ र १२ पर्दछन् । यहाँ ६२ हजार २४२ मतदाता छन् ।
निर्वाचन जिते बागमती प्रदेशको मुख्यमन्त्री हुने बताउने ज्ञवालीसँग ज्ञवालीसँग गरिएको कुराकानीको सम्पादित अंश
तपाईँको चुनावी अभियान कहाँ पुग्यो ?
अब अन्तिमतिर छौँ । सबै जनताको घर घरमा चोक चोकमा, विभिन्न सञ्जालहरूको माध्यमबाट जनतासँग भोट मागेको छु । उहाँहरूले पनि मत दिने भन्नुभएको छ । उत्साही छु, यस पटक ।
तपाई २०७४ मा भरतपुर महानगरको मेयर र २०६४ मा संविधानसभा सदस्यमा पराजित हुनु भयो ? यस पटक जित्ने आधार के छ ?
जनतालाई थाहा छ की हामीले दिएको मत देवी ज्ञवालीलाई पुगेन र पराजय भोग्नुपर्यो भन्ने । मलाई २०७४ सालमा त माओवादीहरूले मतपत्र च्यातेर जनमतको हत्या गरेर पराजय गराइएको हो । मलाई जनताले हराएका हैनन् । २०६४ मा माओवादीको देशव्यापी आएको माहौलले गर्दा पराजय भयो । तर, यस पटक मलाई जनताले जिताउनुहुन्छ । नपुगेको मत पुर्याएर कसैले हराउन नसक्ने गरी मत दिनुहुन्छ । मेरो जितको आधार भनेको मेरो राजनीति प्रतिको निरन्तरता हो । जनताको विश्वास हो । मैँले मेरो जीवन नै जनताका लागि समर्पित गरेको छु । यहाँको राजनीतिक, सामाजिक परिवर्तन र विकासमा म अथक योद्धा भएर लागेको छु ।
एमालेका विरुद्धमा गठबन्धन छ ? गठबन्धन तुलनात्मक रूपमा बलियो पनि छ कसरी जित्नुहुन्छ ?
गठबन्धन पानीको फोका हो । यसको कुनै अर्थ छैन । बितेको २ वर्षमा यो गठबन्धनको प्रदेश र केन्द्र सरकारले कुनै एउटा काम जनताको पक्षमा गरेको छैन । महँगी बढाउने, अत्याचार गर्ने, उद्योगी व्यावसायीहरू हायलकायल पारिएका छन् । खै त जनतालाई राहत ? खै त विकास ? केपी ओलीलाई अदालत प्रयोग गरेर सत्ताबाट हटाए पछि देशको विकास ठप्प भएर रोकियो । नेताको गठबन्धन होला जनताको गठबन्धन हुँदैन । हामी यस पटक सजिलै जित्छौँ ।
तपाईँ सङ्घीय सांसद उठ्ने कुरा थियो, एकाएक प्रदेशमा झर्नुभयो किन ?
कुरा सही नै हो । म सङ्घीय सांसद उठ्न चाहन्थे । तर, पार्टी भित्र सल्लाह भयो, सहमति भयो । म प्रदेशमा र कृष्णभक्त जी सङ्घमा उठ्न हामी सहमत भयौँ । मेरो गोरुको बाह्रै टक्का भनेर पनि त भएन । हामीमा एकता भाव छ । अहिलेको परिस्थितिले पनि हामीलाई एक ठाउँमा उभ्याएको हो ।
तपाईँ बागमती प्रदेशको मुख्यमन्त्री बन्ने भनेर चुनावी प्रचार गर्नुभएको रहेछ ? खास के हो ?
मलाई पार्टीले निर्वाचन जितेर जाँदै गर्दा प्रदेशको महत्त्वपूर्ण जिम्मेवारी प्रदान गर्ने कुरा छ । म एमालेको १० औँ महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर जित्ने केन्द्रीय सदस्य पनि हो । एमालेका नेता कार्यकर्ताको भरोसा पनि हो । म निर्वाचित हुँदै गर्दा मुख्यमन्त्री बन्ने अवस्था तयार हुन्छ । त्यसको लाभ चितवनका जनतालाई पनि हुन्छ । मेरो क्षेत्रका जनतालाई पनि हुने नै भयो । तर, विपक्षी उम्मेदवारले जित्दा त एउटा सांसद मात्रै हुने हो । अब मुख्यमन्त्री हुनसक्ने मान्छेलाई जिताउने कि सांसद मात्रै हुने उम्मेदवारलाई जिताउने जनताले फैसला गर्नुस् भनेको हो । र अर्को कुरा गठबन्धनले प्रदेशमा पनि २ वर्ष सरकार चलायो कति बदनाम भयो तपाईँले देख्नु भएकै छ । कति विकृति भित्रियो । झ्यालै पिच्छे मन्त्रालय बनाएर जनता माथि लुट मच्चाएको तपाईँले देख्नुभएकै छ । मनपरी, अराजकता हाबी भयो । त्यसैले सुसंस्कृत र जनतामुखी शासनका लागि पनि एमालेलाई जिताउनुपर्छ । जनतालाई यो कुराको ख्याल भएको पाएको छु ।