भारत सरकारले अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल अनिल चौहानलाई नयाँ चिफ अफ डिफेन्स स्टाफ नियुक्त गरेको छ। ४० वर्ष लामो सैनिक अनुभव भएका चौहान भारतीय सेनाको शीर्षस्थ पदमा नियुक्त भएका हुन् ।
यसअघिका चिफ अफ डिफेन्स स्टाफ विपीन रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो। त्यसको नौ महिनापछि चौहानलाई सो पदमा नियुक्त गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
अनिल चौहानको जन्म सन् १९६१ मे १८ मा भएको हो। उनी सन् १९८१ मा भारतीय सेनाको ११ गोरखा राइफल्समा आबद्ध भएका थिए। अवकाश पाउनुअघि इस्टर्न कमान्डका कमान्डर–इन–चिफ थिए। २०२१ को मे महिनामा उनले अवकाश पाएका थिए।
Government appoints Lt General Anil Chauhan (Retired) as Chief of Defence Staff (CDS) who shall also function as Secretary to Government of India, Department of Military Affairs with effect from date of his assumption of charge and until further ordershttps://t.co/91FyOMvjA4
— PIB India (@PIB_India) September 28, 2022
त्यसपछि उनलाई राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालको अध्यक्षतामा रहेको एनएससीएसको सैन्य सल्लाहकारका रुपमा नियुक्त गरिएको थियो ।
चौहान चीन मामिलाका विशेषज्ञ हुन् । उनले सेनामा कार्यरत हुंदा धेरै समय पूर्वी कमाण्ड सम्हालेका थिए । उनि बालाकोट हवाई हमलाको बेला सैन्य संचालन महानिर्देशक (डिजिएमओ) समेत थिए । चौहान भारत म्यान्मार संयुक्त सैन्य अभियान अपरेशन सनराइजका रचनाकार समेत हुन् । उनले भारत सरकारको सैन्य मामिला विभागको सचिवका रुपमा समेत काम गर्नेछन् ।
गत जुनमा अवकाशप्राप्त सैन्य अधिकारीलाई पनि चिफ अफ डिफेन्स स्टाफ नियुक्त गर्न मिल्नेगरी नियम संशोधन गरिएको थियो।
सन् २०२० मा उनलाई परम विशिष्ट सेवा पदकद्वारा विभूषित गरिएको थियो भने सन् २०१८ मा उत्तम यद्ध सेवा पदक प्राप्त गरेका थिए। उनले संयुक्त राष्ट्रसंघको मिसनमा अंगोलामा रहेर पनि काम गरेका थिए।