झापाको मेचीनगर नगरपालिकामा समयमा निर्वाचन खर्च नबुझाउने उम्मेदवारबाट पाँच करोड ६६ लाख जरिवाना निर्वाचन आयोगले असुल्ने भएको छ ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ वैशाख ३० गते सम्पन्न भए पश्चात मत परिणाम सार्वजनिक भएको मितिले ३० दिन भित्र खर्च विवरण पेश गर्नुपर्नेमा सो विवरण पेश नगर्ने तथा विलम्व पेश गर्ने उम्मेदवारहरूलाई कानुन बमोजिम जरिवाना कायम भएको हो ।
यसरी जरिवानामा तिर्नेमा निर्वाचित मेयर गोपालचन्द्र बुढाथोकी र उपमेयर मीना कुमारी पोख्रेल देखि २६८ जना उम्मेदवार रहेको जिल्ला निर्वाचन कार्यालयले आइतबार सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
स्थानीय तह निर्वाचनमा यस नगरपालिकाबाट ३२० जना निर्वाचनमा सहभागी भएकोमा जम्मा ५२ जना उम्मेदवारले मात्र समयभित्र निर्वाचन खर्च बुझाएका हुन् । समयमा निर्वाचन खर्च बुझाउनेमा प्रमुख पदका इन्द्र बहादुर बुढाथोकी र किशोर धिमाल, उपप्रमुख पदका प्रकाश भण्डारी, शिखा लिम्बू र सिता दुलाल छन् भने बाँकी रहेका ४७ जनामा वडाध्यक्ष र सदस्य पदका उम्मेदवार हुन् ।
निर्वाचन आयोगले नगरपालिका प्रमुख र उपप्रमुखसँग चार लाख ५० हजार रुपैयाँ र वडाध्यक्ष र सदस्यहरूको लागि दुई लाख रुपैयाँ जरिवाना तोकेको छ । उक्त जरिवनामा भाद्र ३१ गतेको मितिले ६ महिनाभित्र दाखिला गर्न पनि आयोगले निर्देशन दिएको छ ।
समयमा निर्वाचन खर्च नबुझाउने प्रमुख र उपप्रमुख पदमा १२ जनाबाट प्रतिव्यक्ति रु चार लाख ५० हजारका दरले ५४ लाख र वडाध्यक्ष र सदस्य पदका २५६ उम्मेदवारबाट प्रतिउम्मेदवार दुई लाखका दरले पाँच करोड १२ लाख गरी कूल पाँच करोड ६६ लाख रुपैयाँ जरिवना तिर्नुपर्ने भएको हो ।
जरिवाना तिर्नुपर्नेहरूको सूची