
काठमाडौँ- मंगलबारको झडपमा सुरक्षाकर्मीबाट युवाहरूको समूहले खोसेका झण्डै दुई दर्जन हतियार नेपाली सेनाको जिम्मा लगाइएको छ ।
पछिल्लो जानकारी अनुसार भक्तपुरको लोकन्थलीमा गस्तीमा रहेका नेपाली सेनालाई पनि केही युवाहरूले हतियार जिम्मा लगाएका छन् ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार विभिन्न ठाउँबाट २३ थान हतियार सेनाले प्राप्त गरिसकेको छ । साथै लुटपाट भएको ३३ लाख ७० हजार रुपैयाँ नगद र सञ्चार उपकरणहरू समेत नेपाली सेनाले प्राप्त गरेको छ ।
जेन जेड प्रदर्शनको क्रममा मंगलबार आक्रोशित समूहले नेपाल प्रहरीहरूलाई कुटपिट गर्नुका साथै हतियार समेत खोसेका थिए । उनीहरूले प्रहरीका र अन्य सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी गरेका थिए ।
तोडफोड र आगजनीको घटनापछि मंगलबार राति १० बजेदेखि नेपाली सेनाले सुरक्षा कमाण्ड सम्हालेको छ । लुटपाट र आक्रमणमा संलग्न व्यक्तिहरूलाई सेनाले नियन्त्रणमा समेत लिएको छ ।
ठाउँ ठाउँमा नेपाली सेनाले गस्ती गरिरहेको छ । सोही क्रममा सेनाको टोलीलाई युवाहरूले हतियार बुझाएका हुन् ।