नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायतका राजदूतसहित अष्ट्रेलिया, स्वीट्जरल्याण्ड र युरोपेली सङ्घका निमित्त राजदूतहरूले आज एमाले पार्टी कार्यालय, च्यासलमा सामूहिक भेट गरेका छन् ।
भेटमा राजदूतहरूले नेपाल सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्न लागेको सन्भर्दमा प्रमुख विपक्षीको भूमिकाका विषयमा जिज्ञासा राखेका थिए । सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्दा अन्तर्राष्ट्रियस्तर र मान्यतामा ध्यान पुर्याउनुपर्छ भन्ने उहाँहरूको चासो रहेको थियो ।
ओलीसँगै रहेका एमाले उपाध्यक्ष सुवास नेम्बाङले भने, ‘नेपालले अन्तर्राष्ट्रिय जगत्मा गरेको प्रतिबद्धताबमोजिम पीडितको आवाज सम्बोधनको व्यवस्था ऐनमा हुनुपर्ने र त्यसका लागि एमालेको प्रभावकारी र महत्वपूर्ण भूमिका रहोस् भन्ने उहाँहरूको भनाइ थियो ।’
सो अवसरमा अध्यक्ष ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन निर्माण र संशोधनको काम गर्दा संसद्को सम्पूर्ण प्रक्रिया पूरा गरेर गर्नुपर्छ भन्ने एमालेको धारणा रहेको बताए । अध्यक्ष ओलीले यस्ता महत्वपूर्ण विधेयकहरू छोटो प्रक्रियाबाट अगाडि बढाउनु न्यायोचित नहुने स्पष्ट पारेका छन् ।
यो समस्या गठबन्धन सरकार र गठबन्धनमा रहेका दलहरूको मात्र नभई देशकै समस्या भएकाले बहुमत–अल्पमतको आधारभन्दा माथि उठेर एकताका साथ टुङ्ग्याउनुपर्छ भन्ने एमालेको धारणा रहेको अध्यक्ष ओलीले स्पष्ट पारे ।
भेटवार्तामा अध्यक्ष ओलीसँगै रहेका पार्टीका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले यस विषयमा सर्वोच्च अदालतले के फैसला गर्छ, त्यसलाई हेर्नुपर्ने र नेपालले अन्तर्राष्ट्रिय जगत्मा गरेको प्रतिबद्धताअनुसार प्रक्रिया अगाडि बढाउनुपर्नेलगायत विषय राखेका थिए।
पूर्वप्रधानमन्त्री ओलीसँग अमेरिकी राजदूत र्याण्डी बेरी, बेलायतका राजदूत निकोला पोलिटलगायतले गरेको भेटवार्तामा अध्यक्ष ओलीसहित उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ, उपमहासचिव विष्णु रिमाल र परराष्ट्र मामिला विभाग सचिव डा अञ्जान शाक्य सहभागी थिए।