भारत र अमेरिकाका सैनिकहरूले सैन्य अभ्यास गर्ने भएका छन् । उनीहरुले चीनको सीमाबाट १०० किलोमिटर टाढा उत्तराखण्डको औलीमा १० हजार फिटको उचाइमा सैन्य अभ्यास गर्ने भएका हुन् ।
ताइवान संकटलाई अमेरिकाले भारतसँग मिलेर चीनलाई घेरा हाल्ने ठूलो योजनामा अभ्यास गरिरहेको विज्ञहरू बताउँछन् । भारतीय र अमेरिकी सेनाबीच हरेक वर्ष अभ्यास हुने गरेको छ । यस वर्षको अक्टोबर महिनामा पनि १८ देखि ३१ गतेसम्म भारत र अमेरिकाका सैनिकले उत्तराखण्डको औलीमा युद्ध अभ्यास गर्नेछन् ।
साथै, भारत र अमेरिकाबीचको यो अभ्यास पहिलो पटक चीनको सिमानाको यति नजिक हुन लागेको हो । यो कारणले गर्दा चीनले यसमाथि कुटिल नजर राखेको छ ।
अभ्यासको समय धेरै महत्वपूर्ण छ । चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय बैठकमा राष्ट्रपति सी चिनफिङले पार्टीबाट तेस्रो कार्यकालका लागि प्रयास गर्नुअघि यो अभ्यास हुन लागेको हो ।
अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि सी जिनपिङ आक्रोशित भएका छन् । चिनियाँ सेनाका सर्वोच्च कमाण्डर सी जिनपिङको आदेशमा पीएलएले ताइवानको चारैतिर बारुदको वर्षा गरेको छ ।
चीनमा राष्ट्रवादको नाममा जनतालाई उक्साउने सी जिनपिङलाई अहिले त्यही जनताले न्यान्सी पेलोसीको विमान बीच बाटोमा किन उडाएनन् भन्ने प्रश्न सोधिरहेका छन् ।
भारत र अमेरिकाको सेनाले यस्तो संयुक्त अभ्यासको घोषणा गरेको छ, जब चिनियाँ सेनाले हालै लद्दाख सीमा नजिकै ठूलो मात्रामा लाइभ फायर ड्रिल गरेको छ ।
चीनले पहाडी क्षेत्रमा भएको अभ्यासमा ड्रोन, एयर डिफेन्स गन र मिसाइलले भाग लिएको तस्विर सार्वजनिक गरेको छ । चिनियाँ सेनाले हवाई हमलालाई विफल पार्न अभ्यास गर्दै आफ्नो बेसको रक्षा गर्न अभ्यास गरेको थियो। यो अभ्यास १५ हजार फिटको उचाइमा गरिएको चीनले जनाएको छ ।
त्यसलगत्तै अब भारत र अमेरिकाका सेनाहरू अभ्यास गर्न लागेका छन्, जुन दुई सेनाबीचको सबैभन्दा ठूलो सैन्य तालिम हो । यसअघि सन् २०२१ मा यो अभ्यास अमेरिकाको अलास्कामा भएको थियो । यसमा ब्ल्याक हक हेलिकप्टर र चिनुक हेलिकप्टरले भाग लिएका थिए ।
(एजेन्सीको सहयोगमा तयार पारिएको रिपोर्ट )