भारत सरकारको अनुदान सहयोगमा तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
भारतीय राजदूतावासका प्रथम सचिव डा. साहिल कुमार र जिल्ला समन्वय समिति तनहुँका प्रमुख श्री शान्तिरमण वाग्लेले भारत सरकारको अनुदान सहयोगमा तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको आज संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको प्रदान गरेको रु दुई करोड एक लाख ९० हजारको लागतमा उक्त विद्यालय भवनको निर्माण भएको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरु मध्येको एक हो ।
सन् १९७५ मा प्राथमिक विद्यालयको रुपमा स्थापना भएको यस विद्यालय सन् २००० मा माध्यमिक विद्यालयको रुपमा स्तरोन्नत भएको थियो । यस विद्यालयमा १८० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमध्ये ६० प्रतिशत छात्रा छन् । यस नयाँ संरचनाको निर्माणले विद्यार्थीहरुलाई राम्रो शैक्षिक वातावरण प्रदान गर्ने विश्वास लिइएको छ ।
सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न गरिसकेको अधिकारीहरू बताउँछन् । ती मध्ये तनहुँ जिल्लाका ६ गरी गण्डकी प्रदेशमा ५७ वटा रहेका छन् ।