काठमाडौँ । नेपाल-भारतबीच लाइन अफ क्रेडिट (एलओसी) को दसौँ समीक्षा बैठक बिहीबार काठमाडौँमा सम्पन्न भएको छ ।
बैठकमा भारतीय विदेश मन्त्रालय (विकास साझेदारी प्रशासन) का सहसचिव ए. अजय कुमारले भारतीय राजदूतावास र एक्जिम बैंकका प्रतिनिधि सम्मिलित टोलीको नेतृत्व गरेका थिए। त्यसै गरी नेपालका तर्फबाट नेपाल सरकार अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले बैठकको नेतृत्व गरेका थिए ।
नेपाली टोलीमा भारतीय लाइन अफ क्रेडिट अन्तर्गतका परियोजना कार्यान्वयनमा संलग्न विभिन्न विभागका अधिकारीको सहभागिता थियो ।
नेपाललाई उपलब्ध गराइएको लाइन अफ क्रेडिटमार्फत भएका लगायत नेपाल-भारत विकास साझेदारीमा भएको बलियो सहकार्यको दुवै पक्षले प्रशंसा गरे । साथै कार्यान्वयनका विभिन्न चरणमा रहेका परियोजनामा भएका प्रगतिको पनि बैठकले समीक्षा गरेको भारतीय दूतावासले जनाएको छ ।
बैठकका लागि नेपाल आएको भारतीय टोलीले दुई दिन भारत सरकारको ऋण अनुदान अन्तर्गत निर्माण भइरहेका सडक परियोजनाहरूको स्थलगत भ्रमण गरेको थियो ।
भारतले ६० भन्दा बढी साझेदार राष्ट्रलाई ३० अर्ब अमेरिकी डलर भन्दा बढीको लाइन अफ क्रेडिट उपलब्ध गराइसकेको छ । भारतले नेपाललाई १० करोड अमेरिकी डलर, २५ करोड अमेरिकी डलर, ५५ करोड अमेरिकी डलर र ७५ करोड अमेरिकी डलर गरी जम्मा १.६५ अर्ब अमेरिकी डलर लाइन अफ क्रेडिट उपलब्ध गराइसकेको उक्त कार्यक्रममा जानकारी दिइयो ।
लाइन अफ क्रेडिट अनुरूप उपलब्ध गराइएको यो रकम नेपाल सरकारले प्राथमिकतामा राखेको पूर्वाधार विकासमा लगानी गरेको छ ।
यसरी प्राप्त ऋण रकम हाल सम्म ४० भन्दा बढी सडक परियोजना, ६ वटा जलविद्युत तथा प्रसारण लाइन र विभिन्न आवास तथा पुनर्निर्माण परियोजनामा खर्च भएको जनाइएको छ । सडक परियोजनामध्ये एक हजार १०५ किमी सडक सम्पन्न भएको बताइएको छ ।
कोसी कोरिडोर (२२० केभी), मोदी लेखनाथ (१३२ केभी), सोलु कोरिडोर (१३२ केभी) र ढल्केबर–भित्तामोड (४०० केभी) जस्ता मुख्य एलओसी परियोजनाले नेपालमा विद्युत् प्रसारण पूर्वाधारलाई विस्तार गर्न मद्दत गरेको सोही कार्यक्रममा जानकारी दिइयो ।
भेरी कोरिडोर, निजगढ–इनरुवा, गण्डक नेपालगन्ज प्रसारण लाइन र यी प्रसारण लाइनका सबस्टेसनहरुको निर्माणका लागि एलओसी अन्तर्गत अनुमानित ६७.९८ करोड अमेरिकी डलर लगानी गर्न पनि भारत सरकार सहमत भएको छ ।