म्यानमारबाट नेपालीलाई लिएर त्यहाँको सैन्य विमान उडेको छ।
आज बिहान २६ जना नेपालीलाई लिएर विमान उडेको हो। उक्त विमानले नेपालमा म्यानमारका नागरिकलाई लिएर फर्कने छ।
म्यानमार सरकार र नेपाली दूतावासको पहलमा नेपालीहरु फर्किँदै गरेका हुन्। म्यानमारबाट आएका सबैजना होम क्वारेन्टाइनमा बस्ने भएका छन्।
कोरोना संकट ब्यवस्थापन केन्द्र-सीसीएमसी स्रोतका अनुसार उनीहरु सबैले म्यान्मारमै पीसीआर टेस्ट गरी नेगेटिभ देखिएकाले उनीहरुलाई होम क्वारेन्टाइनमा बस्ने सुविधा दिइएको हो।
त्रिभुवन विमानस्थलमा ओर्लिएपछि उनीहरुलाई होल्डिङ सेन्टमा पुर्याएर त्यहाँबाट सेनाले घरसम्म पुर्याउने छ।
म्यान्मारबाट आउने नेपालीको टोलीमा सबैभन्दा बढी बागमती प्रदेशका १७ र सबैभन्दा कम प्रदेश-१ का एक जना छन्।
अन्य ८ जना थप दुई प्रदेशका छन्। म्यान्मारले आफ्नो सेनाको विमानमा राखेर नेपालीलाई स्वदेश फर्काएको हो ।
सरकारले पहिलो चरणमा २५ हजार नेपालीलाई विदेशबाट उद्धार गर्ने तयारी गरिरहेको छ।
युएईको टुङ्गो लागेन
यसैबीच युएइबाट ल्याइने नेपाली नागरिकको बारेमा भने अन्यौल भएको छ । युएईको सारजहाँबाट एयर अरेबियाको जहाजबाट आज १६८ जना नेपाल आउने यसअघि तय भएको थियो ।
आज ११.४५ मा ल्याण्ड हुने भनिएको त्यो जहाज भाडाको बिषयमा मत बाझिएपछि शुक्रबार ४ बजे आउनेगरि समय सारिए पनि अन्यौल नै रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पहिले लिखित रुपमा निःशुल्क भाडामा नेपाली नागरिक पठाउने त्यहाँको राजदूताबासले जानकारी पठाएको थियो । तर अन्तिम अवस्थामा बिहीबार भाडाको बिषयमा उताबाट कुरा आएपछि त्यसमा सैद्धान्तिक रुपमा स्पष्ट नभएसम्मका लागि युएइबाट नेपाली ल्याउन नसकिने मन्त्रालयका सहसचि हरिश्चन्द्र घिमिरेले जानकारी दिए ।
व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले पहिले आठवटा जहाजबाट नेपाली नागरिकलाइृ निःशुल्क नेपाल ल्याइदिने सहमति जनाएको थियो । युएइबाट १८ हजार नेपालीले फिर्ता आउन निवेदन दिएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार कोभिड–१९ को उच्च जोखिमका बखत विदेशमा रहेका नेपाली नागरिकमध्ये फर्कनैपर्ने वाध्यतामा परेकालाई सरकारले नेपाल फिर्ता ल्याउन थालेको हो ।