उदयपुरको कटारी नगरपालिकामा हजुरआमाको हत्या आरोपमा नाति पक्राउ परेका छन्। पक्राउ पर्नेमा कटारी–७ रिस्कुका २७ वर्षीय रोहित दनुवार रहेका छन्।
बिहीबार बिहान खुकुरी प्रहार गरी आफ्नी ७२ वर्षीया हजुरआमा मनमाया दनुवारको हत्या गरेका आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ।
उदयपुर प्रहरीका प्रवक्ता डिएसपी सन्तोष आचार्यका अनुसार घरजग्गा आफ्नो नाममा दर्ता गराउने मनसायका साथ एक्लै बस्दै आएकी हजुरआमाको घर पुगेका रोहितले हम्मर र खुकरी प्रहार गरी हजुरआमाको हत्या गरेका हुन्।
कटारी–७ का निवर्तमान वडाध्क्ष धनकुमार दनुवारका अनुसार श्रीमान बितेपछि मनमाया एक्लै बस्दै आएकी थिइन्। उनका तीन छोरा छुट्टिएर आ–आफ्नै घरमा बस्दै आएका थिए। जेठा छोरातिरका कान्छा नाति रोहित केही वर्षअघि विदेशबाट फर्किएर काठमाडौँमा मःम पसल सञ्चालन गर्दैआएका थिए। उनीसँगै श्रीमती र दुई सन्तान पनि काठमाडौँमा छन्।
मःम पसलमा लगानी थपेर बढाउने मनसाय बनाएका रोहित केही दिनअघि मात्र रिस्कु आएका थिए। ‘बुबाको जग्गा पाखामा छ, बैंकले राम्रो भाउ नलगाउने भएपछि उनले सडकनजिक पर्ने हजुरआमाको जग्गामा नजर लगाएका रहेछन्,’ निवर्तमान वडाध्यक्ष दनुवारले भने, ‘आज बिहान सल्लाह गर्नका लागि हजुरआमाको घर पुगेका उनले हत्या गरेछन्।’
हजुरआमाको हत्या गरेर हत्यामा प्रयोग भएका समान लुकाउँदै गर्दा स्थानीयले देखेपछि उनी फरार भएका थिए। तर इलाका प्रहरी कार्यालयले चारैतिरबाट घेरा हालेर पक्राउ गरेको छ।