
काठमाडौँ । जर्मनीका लागि नेपाली राजदूत तथा चेक गणतन्त्रका लागि गैरआवासीय राजदूत डा. शैल रुपाखेतीले राष्ट्रपति पेत्र पावेलसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
सोमबार प्राग दरबारमा आयोजित समारोहमा राजदूत रुपाखेतीले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राष्ट्रपति पावेलको स्वास्थ्य र चेक जनताको समृद्धिको कामना गरेका थिए ।
राजदूतले नेपाल र चेक गणतन्त्रबीचका द्विपक्षीय सहयोगका सम्भावनाबारे जोड दिँदै आगामी दिनमा सम्बन्ध अझ विस्तार हुने आशा व्यक्त गरे ।
राष्ट्रपति पावेलले नयाँ राजदूतलाई स्वागत गर्दै नेपाली राष्ट्रपति र जनताको शान्ति, प्रगति र समृद्धिको शुभकामना व्यक्त गरेका थिए । उनले राजदूत रुपाखेतीको कार्यकालमा दुवै मुलुकबीचको सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा चेक उच्च अधिकारीहरूको उपस्थिति थियो । राजदूत रुपाखेती पत्नी डा। इन्दिरा पौड्याल र उपप्रमुख सागरप्रसाद फुयाँलसहित कार्यक्रममा सहभागी भएका थिए । साथै, उनले चेक विदेश मन्त्रालयका अधिकारीहरूसँग आपसी चासोका विषयमा छलफल गरेका थिए ।