काठमाडौं। काठमाडौं उपत्यकामा श्रृंखलाबद्ध लुटपाट, मोटरसाइकल चोरी र सुनका गरगहना लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ‘माझी गिरोह’का नाइकेसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुलीको मरिण गाउँपालिका–५ घर भई हाल कलंकी बस्ने २४ वर्षीय आयन माझी तथा मकवानपुरका ३६ वर्षीय मनोजकुमार मोक्तान र ३४ वर्षीय राकेश थिङ छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूलाई भक्तपुरको ठिमीबाट पक्राउ गरेको हो।
परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेका अनुसार पक्राउ गर्ने क्रममा आयनले प्रहरीमाथि धारिलो हतियार प्रहार गरी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको थियो। त्यसपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा उक्त समूहले बिहान र रातिको समयमा एक्लै हिँड्ने सर्वसाधारणलाई लक्षित गरी ठेगाना सोध्ने बहानामा महिला तथा पुरुषलाई नियन्त्रणमा लिएर सिक्री लुट्ने गरेको खुलेको प्रहरीले जनाएको छ। लुटपाटपछि उनीहरूले पटक–पटक सवारीसाधन परिवर्तन गरेर भाग्ने गरेको पाइएको छ।
प्रहरीका अनुसार समूहले १५ भन्दा बढी मोटरसाइकल चोरी गर्नुका साथै उपत्यकाका विभिन्न स्थानमा भएका २७ भन्दा बढी लुटपाटका घटनामा संलग्न रहेको खुलेको छ। आयन यसअघि पनि डाँका तथा चोरी मुद्दामा कारागार बसेर छुटेका व्यक्ति रहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा आयनले जेन–जी आन्दोलनका क्रममा लुटिएका अत्याधुनिक हतियार खरिद गर्ने योजनासमेत बनाएको खुलेको घिमिरेले बताए।
प्रहरीले उनीहरूको साथबाट लुटपाटमा प्रयोग भएको भनिएका दुई मोटरसाइकल, पाँचवटा नक्कली नम्बर प्लेट र खुकुरी बरामद गरेको छ। गिरोहका अन्य सदस्यको खोजी भइरहेको तथा पक्राउ परेकामाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।