सिरहाका विभिन्न गाउँपालिकास्थित क्वारेन्टिनमा बसेकाहरुले सरसफाइमा ध्यान नदिँदा क्वारेन्टिनस्थल दुर्गन्धितसँगै सङ्क्रमण समुदायमै फैलिने जोखिम बढेको छ ।
भारतबाट फर्केर सिरहाको बरियारपट्टि र औरही गाउँपालिकास्थित क्वारेन्टिनमा बसेकाहरुले जथाभावी फोहर फाल्ने र व्यक्तिगत सरसफाइमा ध्यान नदिँदा क्वारेन्टिनस्थल दुर्गन्धित बन्नुका साथै समुदायमै कोरोना फैलिने जोखिम बढेको हो ।
बरियारपट्टि गाउँपालिका–३ स्थित जनता माध्यमिक विद्यालय प्राविधिकको क्वारेन्टिनमा बसेकाहरुले चिया नास्ता र खाना खाएको कागजको प्लेट तथा प्लाष्टिकको गिलास जथाभावी फाल्दा क्वारेन्टिनस्थल दुर्गन्धित बनेको स्थानीयवासीले गुनासो गरेका छन् । “प्लेट, गिलास र प्लाष्टिकका झोला जताततै फालिएको छ”, बरियारपट्टि गाउँपालिकाका मुकेश यादवले भने , “जसका कारण क्वारेन्टिनस्थल त दुर्गन्धित बनेको छ नै जथाभावी फालिएको फोहरका कारण बस्तीमा कोरोना भाइरससँगै अन्य रोगको सङ्क्रमण फैलिने जोखिम बढेको छ ।” क्वारेन्टिनमा बसेकाहरुले व्यवस्थितरुपमा फोहर नफाल्दा यतिबेला क्वारेन्टिनस्थल वरिपरि दुर्गन्धले त्यहाँ जान नसक्ने अवस्था रहेको उहाँको भनाइ छ ।
बरियारपट्टि गाउँपालिकाले बनाएको सो क्वारेन्टिनमा भारतबाट फर्किएका ६८ जना बसिरहेका छन् । क्वारेन्टिनमा बसेकाका लागि बरियारपट्टि बजारबाट प्लाष्टिकको झोलामा खाना प्याकिङ गरी पु¥याउने गरिएको छ । होटल सञ्चालकले प्लाष्टिकको झोलामा प्याकिङ गरी पठाएको खाना, नास्ता र चिया खाएपछि प्लेट र गिलास खाल्डो खनेर पुर्नुपर्नेमा त्यसो नगर्दा क्वारेन्टिनस्थल दुर्गन्धित हुनाका साथै ती फोहर बस्तीसम्मै पुग्ने गरेकाले बस्ती नै सङ्क्रमणको जोखिममा रहेको स्थानीयवासी बताउँछन् ।
बरियारपट्टि गाउँपालिकासँगै टाँसिएको औरही गाउँपालिकाको क्वारेन्टिनमा पनि यस्तै समस्या देखिएको स्थानीयवासीले गुनासो गरेका छन् । “क्वारेन्टिनस्थलमा थोरै सङ्ख्यामा शौचालय छ”, औरही गाउँपालिका–४ का शिवदयाल यादवले भन्नुभयो, “जसका कारण क्वारेन्टिनमा बसेकाहरु खुल्लारुपमै शौच गर्दा दुर्गन्ध फैलिएको छ, वरिपरि बस्ने अवस्था छैन ।” औरही गाउँपालिकाले स्थानीय विद्यालयमा बनाएको क्वारेन्टिनमा अहिले ५५ जना बसिरहेका छन् । “क्वारेन्टिनमा बसेकाहरुले क्वारेन्टिन नजिकै रहेको पोखरीको डिलमा खुल्ला शौच गर्नाका साथै प्लेट र गिलाससमेत फाल्ने गरेका कारण पोखरीसमेत दुर्गन्धित बनाएको छ”, औरहीका अर्का स्थानीय दिलीप यादवले भन्छन्, “यो विषयमा पटक पटक गाउँपालिकाका अध्यक्षलाई जानकारी गराउँदासमेत सरसफाइतर्फ कुनै पहल हुन सकेको छैन ।” जसका कारण सिङ्गो गाउँले समस्यामा परेको उनको भनाई छ ।