नेपालमा नौं जिल्ला कोरोना भाइरस (कोभिड-१९) को उच्च जोखिममा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ सयभन्दा बढी कोरोना संक्रमित उपचारार्थ रहेका नौं जिल्ला ‘रेड जोन’मा परेका हुन् ।
हिजोसम्म आठ जिल्ला रहेकोमा आज लुम्बिनी प्रदेशको रुपन्देही पनि उक्त जोनमा परेको हो ।
मन्त्रालयका अनुसार प्रदेश १ का मोरङ र सुनसरी, बागमती प्रदेशका काठमाडौँ, ललितपुर, भक्तपुर र चितवन छन् । यस्तै गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको रुपन्देही र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला ‘रेड जोन’मा परेका छन् ।
कर्णाली प्रदेशका कुनै पनि जिल्ला कोरोनाको ‘रेड जोन’मा परेका परेका छैनन् ।
प्रदेश १ बाट झापा, २ बाट धनुषा, बागमती प्रदेशबाट मकवानपुर र काभ्रेपलान्चोक, गण्डकी प्रदेशबाट नवलपरासी पूर्व र लुम्बिनी प्रदेशबाट बाँके गरी ६ जिल्ला एल्लो जोनमा परेका छन् । २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लालाई एल्लो जोनमा राखिन्छ ।
यदी कुनै पनि जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यमा झर्यो भने उक्त जिल्लालाई ग्रिन जोन भनिन्छ । अहिले नेपालका सबै जिल्लामा सक्रिय सङ्क्रमित रहेको हुनाले ग्रिन जोनमा कुनैपनि जिल्ला परेका छैनन् ।