काठमाडौं, १३ साउन । बागमति प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा नदिने बताएका छन् ।
आज संसदीय दलको नेताबाट हटाइएपछि लामाले आफूविरूद्व प्रपञ्च रचिएको भन्दै राजीनामा नदिने बताएका हुन् । मत विभाजनबाट आज लामालाई काँग्रेस संसदीय दलको नेताबाट हटाइएको छ । लामाका पक्षमा १५ जनाले मात्रै मत दिए भने सांसद ईन्द्रबहादुर बानियाँका पक्षमा २२ जनाले मत दिएका हुन् ।
पार्टी केन्द्रकै निर्देशनमा लामालाई मुख्यमन्त्रीबाट हटाएर बानियाँलाई मुख्यमन्त्री बनाउने तयारी स्वरूप संसदीय दलको नेताबाट हटाइएको हो । लामाले मुख्यमन्त्री हुन दल नेता हुनुपर्छ भन्ने कानुनी व्यवस्था नरहेको भन्दै राजीनामा नदिने स्पष्ट पारेका हुन् ।
‘मुख्यमन्त्री हुन दल नेता हुनुपर्छ भन्ने कानुनी व्यवस्था छैन,’ उनले भने, ‘अहिले दल नेता रिक्त भएको अवस्था छ, मुख्यमन्त्रीबाट भने म राजीनामा दिन्न।’