नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएका व्यक्तिसँगको सम्पर्कमा रहेका ६६ जनाको नतिजा नेगेटिभ आएको छ ।
गएको मंसिर ३ गते नेपाल आएका एक जना ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा पुगेका ७१ वर्षका नेपाली नागरिकमा ‘ओमिक्रोन’ पुष्टि भएको र उनीसँग सम्पर्कमा आएका ६६ जनाको परीक्षण गर्दा नतिजा नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले बताए ।
पीसीआर नेगेटिभ रहेको रिपोर्ट र पूर्ण मात्रा खोप लगाएको प्रमाणसहित आएका ती विदेशी नागरिक र उनीसँग सम्पर्कमा पुगेका अर्का व्यक्तिलाई मंसिर ७ गते कोरोनासँग मिल्दो लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिङ गर्दा हिजो आइतवार राति ओमिक्रोन पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
ओमिक्रोन पुष्टि भएकाले अब कोरोना पुष्टि हुनेहरूको कन्ट्याक्ट ट्रेसिङलाई तीव्रता दिन थालेको भन्दै मन्त्रालयले कोरोनाको सङ्क्रमणबाट जोगिन स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ ।