काठमाडौँ । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बाँके, दाङलगायत तराईका अधिकांश स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ भने देशका अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। देशका बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ।
त्यस्तै, आज राति कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
शुक्रबार कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रसहित देशका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। कोशी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।