कास्की। पोखरास्थित बेगनास तालमा पौडी खेल्ने क्रममा शनिबार साँझ एक युवकको डुबेर मृत्यु भएको छ ।
सल्यान घर भई हाल पोखरा महानगरपालिका–१४ खसीबजार बस्दै आएका २५ वर्षीय नरेश बिकको तालमा डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बल कालिका गण पोखराले जनाएको छ ।
तालमा बिक बेपत्ता भएको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी निरीक्षक शरणबहादुर खड्काको कमाण्डमा गोताखोरसहित ११ जनाको टोली साँझ करिब ६ बजे घटनास्थलमा पुगेको थियो ।
गोताखोर सशस्त्र प्रहरी जवान देवराज खनाल र युवराज श्रेष्ठले खोजी गर्ने क्रममा साँझ करिब ७ बजे तालको करिब २५ फिट गहिराइबाट बिकलाई मृत अवस्थामा फेला पारेका थिए ।
सशस्त्र प्रहरीले मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको जनाएको छ ।