दोहा। कुनै समय अरबको तातो बालुवामा छाक टार्न सिकार गर्न बाज पालिन्थ्यो। पुर्खाका लागि बाध्यता बनेको त्यही अभ्यास आज खाडी समाजमा महँगो सौख, प्रतिष्ठा र सांस्कृतिक पहिचानको प्रतीक बनेको छ। बाजको यही शाही रवाफ, मरुभूमिको पुरानो विरासत र आधुनिक प्रविधिको संगम बनेर दोहामा १०औँ अन्तर्राष्ट्रिय सिकार तथा बाज प्रदर्शनी ‘सहैल २०२६’ सुरु भएको छ।
कतारा कल्चरल भिलेजमा मंगलबारदेखि सुरु भएको प्रदर्शनीमा १५ देशका १५८ भन्दा बढी कम्पनी तथा व्यावसायिक फर्म सहभागी छन्। सेप्टेम्बर १२ सम्म चल्ने प्रदर्शनीमा करोडौँ मूल्य पर्ने सिकारी बाजदेखि मरुभूमिमा गुड्ने अत्याधुनिक अफरोड गाडी, सिकारका उपकरण र प्रविधि राखिएका छन्।
प्रदर्शनी कक्ष छिर्नासाथ काठका स्ट्यान्डमा पखेटा फिँजाएर बसेका विभिन्न प्रजातिका बाज देखिन्छन्। तिनको चालढाल र तीक्ष्ण नजर नियाल्न आगन्तुकहरू रोकिइरहेका हुन्छन्। केही कदम पर परम्परागत छालाका सामग्री सिलाइरहेका कालिगड देखिन्छन् भने त्यहीँ बाजको गति र अवस्थिति पछ्याउने अत्याधुनिक जीपीएस ट्र्याकिङ प्रविधि पनि प्रदर्शनमा छ।
समय फेरिएको छ, बाजको भूमिका पनि। हिजो खाना जुटाउन सिकार गर्ने बाज आज महँगा दौड, सिकार प्रतियोगिता र सौन्दर्य प्रतियोगिताका आकर्षण बनेका छन्। बाजप्रतिको यही मोहले खाडी क्षेत्रमा ठूलो आर्थिक बजार जन्माएको छ।
प्रदर्शनीमा बाजको स्वास्थ्य परीक्षण गर्ने विशिष्टीकृत क्लिनिकदेखि कृत्रिम प्रजनन फार्मसम्म छन्। मरुभूमि सफारीका लागि अत्याधुनिक गाडी परिमार्जन गर्ने व्यवसायी पनि यहाँ जुटेका छन्। बाजपालन अब सांस्कृतिक अभ्यासमा मात्र सीमित छैन; यो सिकारका उपकरण, छालाजन्य सामग्री, गाडी परिमार्जन र ठूला कार्यक्रमसँग जोडिएको व्यावसायिक उद्योगका रूपमा विस्तार भएको छ।
आयोजकका अनुसार ‘सहैल’को उद्देश्य पुर्खाको विरासतलाई नयाँ पुस्ता र आधुनिक प्रविधिसँग जोड्नु हो। कताराका महानिर्देशक तथा आयोजक समितिका अध्यक्ष खालिद बिन इब्राहिम अल सुल्तीले भने, “हामी हाम्रो इतिहासलाई केवल सम्झनामा थन्क्याएर राख्न चाहँदैनौँ।”
मरुभूमिमा जीवन धान्ने साधनका रूपमा सुरु भएको बाजपालन आज अरब समाजको बदलिँदो जीवनशैलीसँगै नयाँ अर्थमा स्थापित भएको छ—जहाँ पुर्खाको सिकार संस्कृति आधुनिक प्रविधि, व्यापार र प्रतिष्ठासँग जोडिँदै गएको छ।