टोकियो – जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको छ। जुलाईमा बेरोजगारी दर २.४ प्रतिशत थियो। सरकारी तथ्यांकअनुसार पाँच महिनापछि पहिलोपटक जापानको बेरोजगारी दर बढेको हो।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार अगस्टमा रोजगारीमा रहेका मानिसको संख्या अघिल्लो महिनाको तुलनामा ३० हजारले बढेर ६ करोड ८३ लाख ४० हजार पुगेको छ।
रोजगारी गुमाएका वा जागिर छाडेकामध्ये ८ लाख १० हजारले स्वेच्छाले जागिर छाडेका थिए। राम्रो रोजगारीको अवसर खोज्दै जागिर छाड्नेको संख्या जुलाईको तुलनामा ८ प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ। यस्तै, रोजगारदाताबाट ४ लाख मानिसले रोजगारी गुमाएका छन्, जुन अघिल्लो महिनाको तुलनामा ५.३ प्रतिशत बढी हो।
अगस्टमा नयाँ रोजगारी खोज्ने मानिसको संख्या पनि २.२ प्रतिशतले बढेर ४ लाख ६० हजार पुगेको छ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका छुट्टै तथ्यांकअनुसार अगस्टमा प्रत्येक १०० जना रोजगारी खोज्ने व्यक्तिका लागि ११८ वटा रोजगारीका अवसर उपलब्ध थिए। यो अनुपात जुलाईकै स्तरमा कायम रहेको छ।
क्षेत्रगत रूपमा भने ११ मध्ये ८ क्षेत्रमा रोजगारीका अवसर अघिल्लो वर्षको तुलनामा घटेका छन्। होटल तथा रेस्टुरेन्ट क्षेत्रमा रोजगारीका अवसर ११.१ प्रतिशतले घटेका छन् भने थोक तथा खुद्रा व्यापार क्षेत्रमा १०.२ प्रतिशतको कमी आएको छ।
यद्यपि, उत्पादन क्षेत्रमा रोजगारीका अवसर ३.९ प्रतिशत र सूचना तथा सञ्चार क्षेत्रमा ३.३ प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ।