काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले हेलिकोप्टरबाट राहत पुर्याउनुपर्नेबाहेक अधिकांश बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पुगिसकेको दाबी गरेका छन्।
प्राधिकरणमा सोमबार आयोजित कार्यक्रममा उप्रेतीले हेलिकोप्टरलाई अहिले खोज तथा उद्धारमा प्राथमिकता दिइएकाले केही दुर्गम क्षेत्रमा राहत पुर्याउन कठिनाइ भइरहेको बताए। त्यस्ता क्षेत्रमा त्रिशूली, रसुवालगायत हेलिकोप्टर पुग्न सक्ने नजिकका स्थानबाट खाद्य सामग्री पठाउने प्रयास भइरहेको उनले जानकारी दिए।
उनका अनुसार स्थानीय सरकारसँग समन्वय गरेर राहत वितरण अघि बढाइएको छ। खोज तथा उद्धार कार्य पनि निरन्तर जारी रहेको उनले बताए। विपद्को पहिलो दिनदेखि नै तीनवटै सुरक्षा निकाय उद्धार तथा राहतमा सक्रिय रहेको उनको भनाइ छ।
बेपत्ता व्यक्तिका नाम प्राप्त हुनेबित्तिकै तीनवटै सुरक्षा निकायमार्फत विवरण जाँच गरी आवश्यकताअनुसार फिल्डमा खटिएका टोली परिचालन गर्ने गरिएको उनले बताए। ‘प्रयास जारी छ र यो प्रयास हाम्रो खोज तथा उद्धारको अवस्था टुङ्गिएसम्म जारी रहन्छ,’ उनले भने।
उप्रेतीले सामाजिक सञ्जालमा फैलिएका फेक भिडियोका कारण गलत सूचना प्रवाह भइरहेको भन्दै सचेत रहन आग्रह गरे। ‘कतिपय हाम्रो फिल्डमा नभएका, घटनास्थलमै नभएका केही फेक भिडियोहरू सामाजिक सञ्जालमा एकदमै फैलिइरहेको अवस्था हामीले पायौँ,’ उनले भने, ‘त्यसले जनमानसमा एकखालको नकारात्मक प्रभाव पनि पारेको देखियो।’
उनले छिमेकी मुलुकसँग समेत समन्वय गरी उद्धार तथा राहतमा आवश्यक सहयोग लिइरहेको बताए। राज्यका तर्फबाट खोज, उद्धार र राहतमा कुनै कसर बाँकी नराखी सुरक्षा निकायलाई चौबीसै घण्टा परिचालन गरिएको उनको भनाइ छ।