काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रस्तुति तथ्यपरक, वैज्ञानिक र परिणाममुखी बनाउन प्रधानमन्त्री बालेन्द्र साहलाई सुझाव दिएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै थापाले प्रधानमन्त्री साहको आसन्न विदेश भ्रमणलाई औपचारिकतामा मात्र सीमित नगरी नेपालका प्राथमिक मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउनुपर्ने बताए।
विशेषगरी जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षति र प्राकृतिक विपत्तिका विषयलाई वैज्ञानिक प्रमाणसहित प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिए। भोटेकोशीमा आएको बाढीलगायत विपत्तिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै नेपालको न्यून हरितगृह ग्यास उत्सर्जनका बाबजुद जलवायु परिवर्तनको असरबाट ठूलो क्षति व्यहोर्नुपरेको विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष स्पष्ट रूपमा राख्नुपर्ने थापाको भनाइ छ।
प्रधानमन्त्रीलाई आफ्नो सचिवालयमा मात्र निर्भर नभई विश्वविद्यालयका अनुसन्धानकर्ता, विज्ञ तथा सम्बन्धित क्षेत्रका विशेषज्ञसँग परामर्श गरेर महासभाको तयारी गर्न उनले आग्रह गरे। नेपालभित्र र विदेशमा रहेका दक्ष जनशक्तिको समेत उपयोग गरेर नेपालको प्रस्तुति प्रभावकारी बनाउन सकिने उनले बताए।
‘अबका दाबीहरू वैज्ञानिक अध्ययनमा आधारित हुनुपर्छ । नेपालले हानि र नोक्सानीको मुद्दा मात्र नभई अनुदानमा आधारित जलवायु वित्तका लागि पनि कडा लबिङ गर्नुपर्छ,’ थापाले भने।
उनले विगतका प्रधानमन्त्रीहरूले संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय मञ्चमा उठाएका विषय र पहलको अध्ययन गरी त्यसलाई निरन्तरता दिनसमेत सुझाव दिए। हिमालदेखि महासागरसम्मका विषय तथा ‘क्लाइमेट जस्टिस’का मुद्दालाई विगतका अन्तर्राष्ट्रिय पहलसँग जोडेर अहिलेको तयारीलाई थप मजबुत बनाउनुपर्ने उनको भनाइ छ।
प्रधानमन्त्रीको महासभा सहभागितालाई ‘ग्रान्ड शो’का रूपमा मात्र नलिई देशका लागि ठोस उपलब्धि हासिल गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने थापाले बताए। सही तयारी र विज्ञहरूको परामर्शसहित प्रस्तुत हुन सके नेपालले आफ्ना मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गर्न सक्ने उनको भनाइ छ।