काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अस्ट्रेलिया नेपालसँगै रहेको बताएका छन्।
प्रधानमन्त्री अल्बानीजले सामाजिक सञ्जालमार्फत नेपालका प्रधानमन्त्री बालेन शाहसँग टेलिफोन संवाद गरी अस्ट्रेलिया सरकार र जनताका तर्फबाट समवेदना व्यक्त गरेको जानकारी दिएका हुन्।
उनका अनुसार अस्ट्रेलियाले बाढी प्रभावित नेपाललाई अत्यावश्यक मानवीय सहायता सामग्री, प्राविधिक उपकरण तथा विशेषज्ञ जनशक्तिमार्फत सहयोग उपलब्ध गराइरहेको छ।
बाढीबाट भएको व्यापक विनाश र जनधनको क्षति अत्यन्तै हृदयविदारक रहेको उल्लेख गर्दै अल्बानीजले बाढीपछि सम्पर्कविहीन रहेका अस्ट्रेलियाली नागरिकको खोजीका लागि सम्भव भएसम्मका सबै प्रयास जारी राख्ने बताएका छन्।
उनले बेपत्ता अस्ट्रेलियाली नागरिकका परिवार तथा आफन्तप्रति समवेदना व्यक्त गर्दै भनेका छन्, “आज मैले नेपालका प्रधानमन्त्री शाहसँग कुराकानी गरी विनाशकारी बाढीबाट भएको सुनामीजस्तै क्षतिप्रति अस्ट्रेलियाको तर्फबाट गहिरो समवेदना व्यक्त गरेको छु।”
अल्बानीजले अस्ट्रेलिया नेपालका साथमा रहेको उल्लेख गर्दै सबैभन्दा बढी आवश्यकता भएका क्षेत्रमा मानवीय सहायता, उपकरण र विशेष विशेषज्ञ क्षमता उपलब्ध गराइरहेको बताएका छन्।