लमजुङ । डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत तनहुँको भानु नगरपालिका–३ चाम्बासदेखि बाइसजाँघरसम्मको सडक विस्तार तथा कालोपत्रको काम तीव्र गतिमा भइरहेको छ । करिब ८.९ किलोमिटर लामो उक्त खण्डमा सडक चौडा बनाउने, पर्खाल तथा नाली निर्माण र बेस तयार गर्ने काम भइरहेको छ ।
सडक निर्माणको जिम्मेवारी पिके निर्माण सेवा दाङले पाएको छ । ६२ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको उक्त सडकखण्डमा हालसम्म करिब ३२ प्रतिशत भौतिक प्रगति भएको डुम्रे–बेँसीसहर सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिए ।
आयोजनाका अनुसार २०८२ जेठमा ठेक्का सम्झौता भएको सडकखण्ड २०८४ जेठसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हाल निर्माणाधीन खण्डमा कालोपत्र, कल्भर्ट निर्माण तथा रङरोगनको काम भने बाँकी रहेको छ ।
यसैगरी, चालु आर्थिक वर्षमा बाइसजाँघरदेखि लमजुङ–तनहुँ सीमा हुँदै लमजुङको सुन्दरबजार नगरपालिका–७ पाउँदीसम्मको करिब ६.५ किलोमिटर सडकलाई दुई लेनमा विस्तार गर्न ६८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । उक्त सडकखण्डका लागि ठेक्का आह्वान भइसकेको र ठेकेदार छनोट प्रक्रिया अघि बढिरहेको आयोजनाले जनाएको छ ।
लमजुङ र मनाङलगायत जिल्लालाई जोड्ने प्रमुख मार्गका रूपमा रहेको डुम्रे–बेँसीसहर–चामे सडक अन्नपूर्ण पदमार्ग जाने आन्तरिक तथा विदेशी पर्यटकका लागि समेत महत्वपूर्ण मानिन्छ । सडक दुई लेनमा विस्तार भएपछि यातायात आवागमन सहज हुनुका साथै पर्यटन गतिविधि बढ्ने अपेक्षा गरिएको छ ।