कञ्चनपुर । सुदूरपश्चिमका विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम बढेपछि जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार कञ्चनपुर, कैलालीसहित सुदूरपश्चिमका पहाडी जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेकाले आकस्मिक बाढीको मध्यम जोखिम कायम छ।
महाकाली नदीमा समेत पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्र तथा होचा भू–भागमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। साथै, सरोकारवाला निकायलाई नदीको निगरानी बढाउन, स्थानीय तह तथा समुदायलाई समयमै सूचना दिन र आवश्यक तयारी थाल्न भनिएको छ।
सुदूरपश्चिमका पहाडी क्षेत्रसँगै भारतको उत्तराखण्डमा निरन्तर वर्षा भइरहेकाले महाकाली नदीको जल सतह बढेको हो। नदीको जल सतह सतर्कता तह पार गरेपछि भारतीय पक्षले नेपाल–भारत जोड्ने वनबासा क्षेत्रमा रहेको शारदा ब्यारेजमा आवागमनमा रोक लगाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार बिहीबार बिहान महाकाली नदीमा पानीको बहाव १ लाख २० हजार ५८० क्युसेक पुगेको छ।
उनका अनुसार महाकाली नदीमा पानीको बहाव १ लाख क्युसेक नाघेपछि सुरक्षाका कारण शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइन्छ। पानीको बहाव १ लाख क्युसेकभन्दा कम भएपछि भने आवागमन पुनः सञ्चालन गरिनेछ।