काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चार हजार २१६ जना अझै सम्पर्कविहीन छन् ।
बाढीपछि राहत तथा उद्धारसँगै सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अघि बढाइएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन भएका छन् । तीमध्ये नेपाल प्रहरीका सात हजार ९१२, नेपाली सेनाका नौ हजार १९९ र सशस्त्र प्रहरीका चार हजार २०३ जना खोज तथा उद्धारमा खटिएका छन् ।
सुरक्षाकर्मीले नदी किनार, बाढी प्रभावित बस्ती, सडक तथा पहिरो प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन् । बाढीका कारण सडक तथा अन्य भौतिक संरचनामा क्षति पुगेकाले कतिपय स्थानमा उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको प्राधिकरणले जनाएको छ ।
बाढीमा परी हालसम्म एक हजार २०४ जनाको मृत्यु भएको छ । जिल्लागत विवरणअनुसार रसुवामा ११५, नुवाकोटमा १५५, धादिङमा ६०, गोरखामा ६९, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा २०२, तनहुँमा ३८ र चितवनमा ३४८ जनाको शव फेला परेको छ ।
विपद्का बेला नेपाली सेनाले हवाई उद्धारलाई समेत तीव्रता दिएको छ । सेनाले हालसम्म चार हजार ९१ नेपाली र २७३ विदेशी नागरिकको हवाई उद्धार गरेको छ । खोज तथा उद्धारका क्रममा सेनाले हालसम्म ६९० हवाई उडान गरेकोमा बुधबार मात्रै ८० उडान गरेको प्राधिकरणले जनाएको छ ।
निजी क्षेत्रबाट समेत २९ वटा हवाई उडानमार्फत उद्धार तथा राहत कार्यमा सहयोग पुगेको छ । सडक सम्पर्कविच्छेद भएका तथा दुर्गम क्षेत्रमा हवाई माध्यमबाट उद्धार र राहत सामग्री पुर्याउने काम भइरहेको छ ।
प्राधिकरणका अनुसार बाढीपछि नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरीका १३ जना पनि सम्पर्कविहीन छन् । त्यस्तै, भन्सार कार्यालयका १४, अध्यागमन कार्यालयका तीन तथा रसुवाबाट करिब ८६५ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।
नुवाकोटबाट एक हजार ५५८, विदेशी नागरिक ५८३ तथा पर्यटकसँग गएका नेपाली १६४ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । जलविद्युत् आयोजनामा कार्यरत करिब ९००, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन, क्वारेन्टिइन कार्यालयका तीन, जनप्रतिनिधि सात, स्थानीय तह तथा मातहतका कर्मचारी ३२ र निजी विद्यालयका एक जना पनि सम्पर्कविहीन छन् ।
प्रभावित नागरिकका लागि सरकारले खाद्यान्न, गैरखाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्री वितरणलाई निरन्तरता दिएको छ । प्रभावित क्षेत्रमा राहत, स्वास्थ्य सेवा र अत्यावश्यक सामग्रीको पहुँच विस्तारमा जोड दिइएको प्राधिकरणले जनाएको छ ।
बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी निकाय खोज, उद्धार र राहतमा निरन्तर परिचालित छन् । सम्पर्कविहीनको सङ्ख्या अझै ठूलो रहेकाले खोजी तथा उद्धार अभियानलाई थप तीव्र पारिएको प्राधिकरणले जनाएको छ ।