काठमाडौं। राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले विपद्पछि उद्धारमा सरकार गम्भीर रूपमा चुकेको आरोप लगाउँदै प्रधानमन्त्री बालेन्द्र साहको हिलो निकाल्ने प्रविधिसम्बन्धी भनाइ गलत भएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले रसुवालगायत क्षेत्रमा बेपत्ता नागरिकको उद्धारमा राज्य संयन्त्र ढिलो परिचालन भएको बताए । बाढी आएको दिन आफूले गृह मन्त्रालय पुगेर सुरुङभित्र मानिस फसेको जानकारी गराए पनि सुनुवाइ नभएको उनको भनाइ छ । ७२ घण्टापछि अनुगमन टोली र ९६ घण्टापछि उद्धार टोली पुगेको भन्दै उनले सरकारी तत्परतामाथि प्रश्न उठाए ।
सुरुङभित्र पसेको लेदो निकाल्ने प्रविधि विश्वमै उपलब्ध रहेको दाबी गर्दै उनले उद्धार कार्य नरोक्न आग्रह गरे । सुरुङको ‘पावर हाउस’ क्षेत्रमा अक्सिजन र खाली ठाउँ रहेकाले मानिस जीवित हुनसक्ने सम्भावना रहेको उनको भनाइ छ ।
‘प्रधानमन्त्रीले हिलो निकाल्ने प्रविधि संसारमै छैन भन्नु सरासर गलत हो । आजको युगमा प्रविधि उपलब्ध छ तर सरकारले त्यसको प्रयोग र खरिदमा चासो देखाएन,’ शाहीले भने ।
उद्धारमा खटिएका सुरक्षाकर्मीलाई जोखिमअनुसार सुविधा दिनुपर्ने तथा जलवायुजन्य विपद्का लागि कार्बन उत्सर्जन गर्ने धनी राष्ट्रसँग क्षतिपूर्ति माग्नुपर्ने पनि शाहीले बताए ।