काठमाडौं। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सरकार पूर्ण रूपमा सक्रिय रहेको बताएका छन्। सरकारले राहत वितरण गर्न नसकेको वा जिम्मेवारीबाट पन्छिएको भन्ने दाबी भ्रामक भएको उनले स्पष्ट पारे।
सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा भोटेकोशी बाढीपछिको अवस्थाबारे जानकारी दिँदै पोखरेलले उद्धार तथा राहतलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच निरन्तर समन्वय भइरहेको बताए।
उनका अनुसार भदौ १४ मा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखबीच छलफल भएको थियो। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार प्रभावित नागरिकको खोज, उद्धार र राहतमा प्रदेश तथा स्थानीय तहको भूमिकालाई थप प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित रहेको उनले बताए।
विदेशी सञ्चारमाध्यमको पहुँच र सूचनामा रोक लगाइएको भन्ने आरोपको समेत पोखरेलले खण्डन गरे। उद्धारका क्रममा हवाई सुरक्षाका प्राविधिक मापदण्ड तथा अत्यधिक एयर ट्राफिक व्यवस्थापन गर्न केही उडान नियमन गरिएको उनको भनाइ छ।
‘उद्धारका लागि हवाई सुरक्षाको प्राविधिक मापदण्ड पालना गर्नुपर्ने भएकाले उडानहरू व्यवस्थित गरिएको हो,’ पोखरेलले भने।
अन्तर्राष्ट्रिय सहयोगका लागि परराष्ट्र मन्त्रालयमार्फत निरन्तर समन्वय भइरहेको जानकारी दिँदै उनले भारत, चीन र कोरियालगायत देशका उद्धार टोली प्रभावित क्षेत्रमा सक्रिय रहेको बताए।
सरकारको प्राथमिकता तत्काल उद्धार तथा राहतसँगै दीर्घकालीन पुनःस्थापनामा रहेको पोखरेलले बताए। मुख्य राजमार्ग, पुल, विद्युत् र सञ्चार सेवा पुनःसञ्चालनका लागि योजनाबद्ध रूपमा काम अघि बढाइएको उनले जानकारी दिए।
विपद्का बेला अपुष्ट तथा गलत सूचनाले उद्धार कार्य र नागरिकको मनोबलमा असर पार्न सक्ने भन्दै उनले आधिकारिक निकायबाट पुष्टि भएका तथ्य मात्र सार्वजनिक गर्न सञ्चारमाध्यमलाई आग्रह गरे।
‘सरकार आफ्ना नागरिकको साथमा छ र हामी चाँडै नै यो संकटबाट बाहिर निस्कनेछौँ,’ पोखरेलले भने।
प्रभावित क्षेत्रमा उद्धार र राहतको काम चौबिसै घण्टा जारी रहने उनले प्रतिबद्धता जनाए।